अर्थमन्त्री भन्छन्, ‘काँग्रेस कार्यकर्ताको दबाबमा रकमान्तर गरेको हुँ’

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २१ जेठ – अर्थमन्त्री रामशरण महतले आफ्नो पार्टी नेपाली काँग्रेसका कार्यकर्ताको दबाबमा रकमान्तर गरेर रकम निकाशा गरेको गरेको खुलासा गरेका छन् ।
ramsharanबुधबार राति बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले कार्यकर्ताको दबाबमा रकमान्तर गरिएको खुलाए ।

‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर खर्च गर्ने चलन पहिल्यैदेखि चल्दै आएको छ’, महतले भने, ‘म रकमान्तरको विरोधमा छु, तर जिल्लाबाट थेग्नै नसक्ने गरी कार्यकर्ताको प्रेसर आउँछ नदिएर के गरौं ?’ उनले यसअघि बाबुराम भट्टराई र सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा समेत रकमान्तर भएको भन्दै सरकारालाई बदनाम गराउने उद्देश्यले जानाजान रकमान्तरको हल्ला फिंजाइएको दाबी गरे ।

प्रतिपक्षीले नियमविपरीत अरबौं रकमान्तर गरेर कार्यकर्ता पोस्ने काम भएको भन्दै संसद अवरुद्ध गरिरहेका बेला उनले रकमान्तर भएको स्वीकार गरे ।

उनले शिक्षकहरुको तलब र उपत्यकाको सडक विस्तारका लागि एक/एक अर्ब, संसद विकास कोषका लागि ६० करोड, नदी नियन्त्रणका लागि ६३ करोड र काठमाण्डु उपत्यका खानेपानी लिमिटेडलाई ३० करोड रुपैयाँ रकमान्तर गरेर पठाइएको स्वीकार गरे ।

विकास निर्माणमा रकम पठाएको दाबी गरेका महतले राष्ट्रपति रामवरण यादव र न्यायाधीशहरुका लागि गाडी किन्न समेत रकमान्तर गरेर पैसा दिएको खुलासा गरे । ‘उनीहरुलाई गाडी चढ्न कानुनले दिएको अधिकार हो’, महतले भने ‘गाडी किन्न पै्रसा पुगेन, दिएको हुँ ।’ महतले प्रतिपक्षले रकमान्तर भएको विषयमा आफूले सदनमा जवाफ दिन खोजेक पनि नपाएको भन्दै दु:खेसो पोखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us