ओलीद्वारा टेलिफोनमै गुटगत भेलालाई सम्बोधन

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले टेलिफोनबाटै गुटगत भेलालाई सम्बोधन गरेका छन् ।
kp oliथाइल्याण्डबाट उपचार गराएर मंगलबार मात्र स्वदेश फर्केका ओलीले महाकाली अञ्चलका आफू पक्षधर कार्यकर्ता भेलालाई बुधबार टेलिफोनमा सम्बोधन गरेका हुन् । १० मिनेट लामो सम्बोधनका क्रममा उनले नवौं महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए ।

एमालेको आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुने महाधिवेशनमा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पार्टीलाई गतिशील र नेतृत्वदायी भूमिकामा पुर्‍याउन यसअघि नेतृत्व गरेकाको हातमा नेतृत्व जान नहुने उनको भनाइ थियो ।

‘पार्टीको गतिशिलताका लागि नेतृत्व हस्तान्तरण हुनुपर्छ’, ओलीले भने, ‘ नवौं महाधिवेशनले स्पष्ट नीतिसहितको नेतृत्प पाउनेमा म ढुक्क छु ।’ उनले सहमितमा नेतृत्व चयन हुने दोहोर्‍याए ।

यसैबीच राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले टेलिफोनबाट र नेम्वाङले भक्तपुरको बालकोटस्थित निवासमै पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us