
काठमाण्डु, २१ जेठ–संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुसँग सम्वाद गरी व्यवस्थापिका–संसदको अवरोध हटाउन सरकारलाई रुलिङ गरेका छन ।
व्यवस्थाकिपा–संसदको बुधबारको बैठक स्थगन भएको घोषणा गर्नुअघि नेम्वाङले अविलम्ब संसदको कारबाही सुचारु गराउन आवश्यक पहल गर्न सरकारको ध्यानार्षण गराएका हुन् ।
‘संसदमा भइरहेको अवरोधको यो स्थिति ठीक होइन’, नेम्वाङले भने, ‘अबिलम्ब अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले लामो समय संसद अवरुद्ध हुँदा जनताका एजेण्डाले संसदमा प्रवेश पाउन नसकेको भन्दै प्रतिपक्षले उठाएका विषयमा वार्ता र छलफल गर्न सत्तापक्षलाई निर्देशन दिए ।
एमाओवादीसहितका प्रतिपक्षीले आर्थिक वर्षको अन्त्यमा सरकारले अर्बौं रकमान्तर गरेर आर्थिक अनियमितता गरेको भन्दै त्यसबारे सदनलाई जानकारी गराउनुपर्ने, प्रमुख दलबीच गत पुस ९ गते भएको चार बुँदे सहमतिअनुसार निर्वाचन धाँधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन हुनुपर्ने, नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (इआईजी) बढुवामा भएको आर्थिक चलखेलको छानबिन हुनुपर्ने लगायत माग राखेर संसद–बैठक अवरुद्ध गर्दै आएको छ ।