
काठमाण्डु, २१ जेठ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विचारभन्दा पनि गुटगत राजनीति हावी हुँदै गएको सन्दर्भमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।
नारायणी प्रेस क्लबको बुधबार अनामनगरमा उद्घाटन गर्दै नेता नेपालले एमालेमा अहिले टपर्टुय्याँको पङ्क्ति बलियो बन्दै गएकोमा असन्तुष्टि व्यक्त गरे ।
यस्तो प्रवृत्तिले पार्टीमा अराजकता निम्ताउने र विचार, बहस र सिद्धान्तभन्दा बाहिर गई पार्टीलाई बदनाम गर्ने उनको भनाइ थियो ।
उनले सरकारले जनचाहना बमोजिम काम गर्न नसकेको बताउँदै एमाले मन्त्रीहरुलाई राम्रो कार्य गरी मुलुकमा सुशासन तथा स्थायित्व कायम गर्न भूमिका खेल्न आग्रह गरे ।
पत्रकार रामहरि सिलवालको संयोजकत्वमा १० सदस्यीय सो क्लब आजै गठन गरिएको हो । क्लबका सदस्यहरुमा गोविन्द चौलागाईं, द्वारिका उप्रेती, रामकुमार ऐलन, शान्ताराम विडारी, प्रमिला भट्टराई, रचना ढकाल, प्रकाश ढुङ्गाना, भोजप्रसाद यादव र हेमराज सिलवाल छन् ।
नवगठित क्लबका संयोजक सिलवालले पत्रकारिताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीको दक्षता अभिवृद्धि गरी खोज तथा अनुसन्धानमूलक पत्रकारिताको विकास गर्न सो क्लब गठन गरिएको बताए ।