श्रीमतीलाई जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १२:२२ मा प्रकाशित

नेपालगञ्ज, जेठ २१ – श्रीमानले कुटपिट गरी मट्टीतेल छर्केर आगो लगाइन लागेकी एक युवतीलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ ।

बाँके परसपुर ७ परसपुर गाउँका २५ वर्षीय मनोज बाल्मिकीले मदिराले मातेको अवस्थामा आफ्नै २२ वर्षीया श्रीमती अमृता बाल्मिकीमाथि मट्टीतेल खन्याएर आगजनी गर्न खोजेका थिए ।

मनोज सशस्त्र प्रहरी बल नेपालगञ्जको कारकाँदोस्थित औद्योगिक गणका सशस्त्र प्रहरी परिचर हुन् ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।
श्रीमानको कुटाइ र मट्टितेलको गन्धका कारण बेहोस बनेकी अमृताको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते अमृताका  ८ वर्षीय र ७ महिनाका दुई छोराहरु  रहेका छन् ।

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गणका सशस्त्र प्रहरी उपरीक्षक बिदुर गुरुङ्गले घटना बारे बुझ्नका लागि टोली घटनास्थलमा पठाएको जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us