पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १५ सूत्रीय माग पेश

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ११:५० मा प्रकाशित

काठमाण्डु, जेठ २१ – नेपाल पत्रकार महासंघले आफ्ना १५ सूत्रीय माग राख्दै सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ ।

fnj logoमहासंघका अध्यक्ष डा.महेन्द्र विष्ट नेतृत्वको टोलीले नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल समक्ष ज्ञापनपत्र पेश गरेको हो ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकार, कर्मचारी, कामदारको प्रतिस्पर्धात्मक क्षमता र वृत्ति विकासको अवसर सुनिश्चित गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ ।

सरकारी विज्ञापनको समुचित र समानुपातिक वितरण प्रणाली लागू गर्नुपर्ने र सरकारी सञ्चारमाध्यमलाई सरकारको नियन्त्रणबाट मुक्त गरिनु पर्ने माग अघि सारिएको छ ।

सञ्चार प्रतिष्ठानमा सेवा सुरु गरेको दिनदेखि नै सेवाका सर्त र सुविधा खुलेको नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, बिदा, वार्षिक वृद्धि, औषधी उपचार, बिमा, उपदान लगायतका श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सुविधाहरूको कार्यान्वयन र समाधान हुनुपर्नेमा जोड गरिएको छ ।

त्यस्तै ज्ञापनपत्रमा राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना , राष्ट्रिय मिडिया आयोगको स्थापना गर्नुपर्ने, प्रेस काउन्सिल नेपाललाई पत्रकार आचारसंहिता अनुगमन गर्न सक्ने क्षमतासहित स्वायत्त, सक्षम र सबल निकायको रुपमा परिभाषित गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

व्यावसायिक पत्रकारिताको प्रवद्र्धनका निम्ति प्रेस स्वतन्त्रताको सहज उपभोगको वातावरण निर्माण, सम्पादकीय स्वतन्त्रताको जगेर्ना र सूचनामा पहुँचको सुनिश्चितताका लागि आवश्यक पहलका साथै सम्पूर्ण पत्रकारको दुर्घटना तथा स्वास्थ्य उपचार बिमाको व्यवस्था तत्काल हुनुपर्नेमा जोडदार माग गरिएको छ ।

द्वन्द्वपीडित पत्रकार कल्याण कोष तत्काल कार्यान्वयनमा ल्याइनु पर्ने ,सशस्त्र द्वन्द्व एवं तत्पश्चात् हत्या गरिएका र बेपत्ता पारिएका पत्रकारको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई राहतको सिफारिसका लागि अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने महासंघको मागपत्रका उल्लेख गरिएको छ । प्रेस स्वतन्त्रताका साथै पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षाका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ ।

साथै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजका ६३ वर्षीय पिता नरेन्द्र झाको जेठ १४ गते असामयिक निधन भएकोमा महासंघले शोक विज्ञप्ति जारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us