
चितवन, २१ जेठ – कृषि सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन आगामी आर्थिक वर्षमा मन्त्रालयले आकर्षक योजना ल्याउने बताएका छन् ।
चितवनको पार्वतीपुरमा रहेको शुभकामना कृषक समूहको बुधबार अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा उनले मन्त्रालयले युवा लक्षित कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।
पछिल्लो समय रोजगारीको सिलसिलामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्दै लैजानु पर्नेमा जोड दिए ।
सरकारले माछापालनका लागि थप अनुदान, ढुवानी सेवामा कर छुट, गाईपालनमा अनुदान, पशु बिमालाई बढावा दिनेलगायतका कार्यक्रम ल्याउन लागेको सचिव खनालले जानकारी दिए ।
कार्यक्रममा व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टका निर्देशक योगेन्द्रकुमार कार्की, क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक टेकबहादुर बम, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीलगायतले बोलेका थिए ।