
काठमाण्डु, २१ जेठ– प्रधानमन्त्री सुशील कोइरालालाई लिन चीनबाट विशेष जहाज आउने भएको छ । चीनको कुनमिङमा हुने ‘साउथ एसिया एक्स्पो’ को उद्घाटन समारोहमा सहभागी हुन कोइराला बिहीबार चीन जान लागेका हुन् ।
एक्स्पोमा दक्षिण एसियाका सबै मुलुकमा सरकार प्रमुखलाई निम्तो पठाएको तीनले कोइरालालाई मात्र लिन र पुर्याउन विशेष विमानको व्यवस्था गरेको हो ।
दुई दिने भ्रमणका लागि प्रधानमन्त्री कोइराला ३३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै बिहीबार बिहान १० बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमण टोलीमा विभिन्न दलका सभासद्, परराष्ट्र मन्त्रालयका अधिकारी र सञ्चारकर्मी सहभागी हुनेछन् । भ्रमणका सिलसिलामा कोइरालाले चीनका उपप्रधानमन्त्री र कुनमिङका गभर्नरसहति उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई स्वीकृति दिएको हो । चीनले प्रधानमन्त्री भएलगत्तै कोइरालालाई निम्ता दिए पनि सल्लाहकारहरुले भारतभन्दा पहिला चीन जाँदा नकारात्मक सन्देश जाने सुझाव दिएपछि उनी नजाने मनस्थितिमा थिए ।
आफू नजाने भएपछि कोइरालाले उद्योगमन्त्रीलाई चीन पठाउन लागेका थिए । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर फर्केपछि भने कोइराला आफैं चीन जाने निधोमा पुगेका हुन् ।
यस्तै बैठकले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्ता पठाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारका नाममा नुवाकोट र धादिङमा रहेको जग्गालाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णयसमेत बैठकले गरेको रिजालले बताए ।