पिपिए भएका आयोजना तत्काल सम्पन्न गर्न प्राधिकरणको निर्देशन

काठमाण्डु टुडे २०७१ जेठ २० गते ११:३८ मा प्रकाशित

काठमाण्डु, २० जेठ – नेपाल विद्युत् प्राधिकरणले हालसम्म ७३ वटा जलविद्युत् आयोजनासँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ ।

निजी क्षेत्रबाट निर्माण गरिएको खिम्ती जलविद्युत् आयोजनासँग पहिलोपल्ट त्यसखालको सम्झौता गरिएको थियो । मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नका लागि प्राधिकरणले सदासयताका साथ पिपिए गरे पनि कतिपय आयोजना हालसम्म पनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।

प्राधिकरणका व्यापार शाखाका प्रमुख हीतेन्द्रदेव शाक्यका अनुसार हालसम्म १०२३ मेगावाट क्षमताका आयोजना भने निर्माणका क्रममा रहेका छन् ।

कुल ३७ वटा आयोजना निर्माणका क्रममा रहेको जानकारी दिँदै प्रमुख शाक्यले ती आयोजनामात्रै समयमा निर्माण सम्पन्न हुनसके मुलुकमा जारी ऊर्जा सङ्कट तत्कालका लागि हल हुनसक्ने बताए ।

नेपालको जलविद्युत् इतिहासमा पिपिएका लागि सबैभन्दा नकारात्मक उदाहरणका रुपमा रहेको खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनामा गरिएको गल्तीका कारण प्राधिकरण बर्सेनि घाटामा गएको छ ।

डलरमा गरिएको पिपिएका कारण मुलुकले बर्सेनि घाटा व्योहोरेपछि सोही प्रक्रियामा पिपिए गर्न नहुने आवाज उठेको छ । ऊर्जा मन्त्री राधा ज्ञवालीले त भोटेकोसी र खिम्तीको पिपिए पुनरावलोकन गर्ने बताउँदै आएकीछिन् । ती दुई आयोजनाबाट प्राधिकरणलाई वार्षिक रु एक अर्ब बराबरको घाटा हुने गरेको छ ।

यस्तै प्राधिकरणमा पिपिएका लागि आवेदन दिइएका र हालसम्म निर्णय नभएका ७९ आयोजना रहेका छन् । ती आयोजनाले दिएको निवेदनका आधारमा निर्णय गरिने प्राधिकरणको तयारी छ ।

मुलुकभित्रका सरोकारवालाले कुनै पनि हालतमा डलरमा पिपिए नगर्न आग्रह गर्दै आएका छन् । ऊर्जा मन्त्रालयसमेत डलरमा पिपिए गर्ने पक्षमा रहेको छैन । खिम्ती र भोटेकोसीमा खेपेको मार पुनःदोहो¥याउने पक्षमा नरहेको ऊर्जा मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

निर्माणको प्रक्रियाका आधारमा थप आयोजनाका प्रवद्र्धकसँग पनि त्यसखालको सम्झौता गर्ने प्राधिकरणको तयारी छ ।

पिपिए भएका र निर्माणका क्रममा रहेका आयोजनामा तल्लो इन्द्रवती खोला, जिरी खोला, पिलुवा खोला, माई खोला, माथिल्लो तामाकोसी, बेल्खु, मैलुङ खोला, ज्यादी खोला, चाकु खोला, राँधी खोला, खानी खोला पहिलो, माथिल्लो सान्जेन, मध्य भोटेकोसी, रसुवा गढी, बुढीगाड, गेलुन खोला, हेवा खोला एक, माथिल्लो मस्र्याङदी, माथिल्लो पुवा खोला एक, ताँदी खोला, मिस्त्री खोला, दरम खोला, माथिल्लो हुग्दी खोला, तल्लो खारे, छोटे खोलालगायत रहेका छन् ।

साना तथा मझौला आयोजनासँग प्राधिकरणले वर्षाको समयमा ४.८० पैसा र हिउँदमा रु ८.८० पैसा प्रतियुनिटमा सो सम्झौता गरेको छ । त्यसमा केही वैदेशिक लगानीमा निर्माण हुन लागेका आयोजनामा भने ५५ प्रतिशत डलरमा र ४५ प्रतिशत नेपाली मुद्रामा पिपिए गरिएको छ ।

हाल सञ्चालनमा रहेका साना–ठूला गरी ३५ आयोजनासँग प्राधिकरणले यसअघि नै पिपिए गरिसकेको छ । पिपिए मात्र गर्ने तर निर्माणको प्रक्रिया सुरु नगर्ने आयोजनालाई सधैँ छुट दिन नसकिने प्राधिकरणको भनाइ छ ।

समयमै काम नगर्ने नौ वटा जलविद्युत् आयोजनाको भने प्राधिकरणलेसम्झौता खारेज गरेको छ ।

‘‘काम नगर्ने र केवल सम्झौता मात्र गर्ने आयोजनालाई छुट दिन सकिँदैन, त्यसकारण पिपिए खारेज गरेका हाँै ’’, प्रमुख शाक्यले भन्नुभयो ।

यस्तै प्राधिकरणले सो सम्झौता गरेका र निर्माण सुरु गरेका आयोजनालाई पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न आग्रह गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us