संसदमा प्रतिपक्षीको प्रश्न, ‘मन्त्रीहरुको अहंकारबाहेक सरकारको उपस्थिति खै ?’

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २१ जेठ – एकीकृत माओवादीसहित प्रतिपक्षी दलको अवरोधका कारण बुधबार लगातार चौथोपटक व्यवस्थापिका–संसदको बैठक अवरुद्ध भएको छ ।

ca houseआर्थिक वर्षको समाप्ति अगाडि सरकारले अनियमित तवरले गरेको अरबौंको रकमान्तरबारे संसदीय छानबिन हुनुपर्ने,
निर्वाचनमा भएको धाँधली छानबिनका लागि समिति गठन, उच्चस्तरीय राजनीतिक समिति गठन तथा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा भएको आर्थिक चलखेलबारे छानविन हुनुपर्ने लगायत माग राखेर विपक्षीले शुक्रबारबाट सुरु भएको संसदको वर्षे अधिवेशन अवरुद्ध गर्दै आएका छन् ।

सभाध्यक्ष सुवास नेम्वाङले संसद बैठक सुरु भएको घोषणा भएलगत्तै सभासदहरु आफ्नो ठाउँबाट उठेर संसद अवरुद्ध गरेका थिए । त्यसपछि सभाध्यक्ष नेम्वाङले एकीकृत माओवादी सभासद अग्नि सापकोटालाई बोल्न समय दिए । सापकोटाले संसदको अवरोध हटाउन प्रतिपक्ष लचिलो भए पनि सरकार गम्भीर नभएको भन्दै त्यसले अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि बिग्रिएको बताए ।
उनले व्यवस्थापिका–संसदले समेत स्वामित्य लिइसकेको चार बुँदे सहमति कार्यान्वयन नगरेर सरकारले बेइमानी प्रदर्शन गरेको सापकोटाको अरोप थियो ।

यस्तै अरबौं रकमान्तर गरेर सरकारले राज्य कोषमा ब्रम्हलुट गरेको र एआईंजी बढुवामा आर्थिक चलखेल भएको भन्दै त्यसबारे छानबिन नभएसम्म संसद चल्न नदिने उल्लेख गरे ।

सरकारमा रहेका मन्त्रीहरुको अहंकारबाहेक कतै पनि सरकारको उपस्थिति नरहेको भन्दै सापकोटाले सरकारको गैरजिम्मेवार क्रियाकपालका कारण जनतामा निराशा बढेको दाबी गरे । ‘सरकारले सहमति कार्यान्यवन नगरेर राजनीतिक बेइमानी प्रदर्शन गरिरहेको छ’, सापकोटाले भने, ‘संसदको अवरोध हटाउन प्रतिपक्षी तयार छ तर सरकार
गम्भीर छैन, यसले मुलुकमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्यति भएको छ ।’ उनले प्रतिपक्षका जायज मागबारे सकारलाई रुलिङ गर्न सभाध्यक्ष नेम्वाङलाई आग्रह गरे । प्रधानमन्त्री सुशील कोइराला बिहीबार चीन भ्रमणमा जाने भएपछि संसद–बैठक आगामी २५ जेठसम्मका लागि स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us