‘कम्युनिष्ट एकताको औचित्य छैन, यस्तो भ्रामक कुराको पछि लाग्दिन’

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ११:३७ मा प्रकाशित

पहिला कट्टर हिन्दूवादी हुनुहुँदो रहेछ, यस्तो मान्छे कसरी धर्मका लागि कुनै स्थान नरहेको माक्र्सवादजस्तो विल्कुलै विपरीत विचार बोक्न पुग्नुभयो ?
वैचारिक हिसाबले म पहिला आर्य समाजमा थिएँ ।

mb singhपारिवारिक पृष्ठभूमिका कारणले नै धर्मकर्मतिर रुची बढ्यो । त्यतिखेर प्यूठानमा पढ्नका लागि स्कुल थिएन । हिन्दू धर्मसँग समबन्धित रामायण, महाभारत, गीता, उपनिषद् पूराणजस्ता किताब पढ्थें । तपश्या गर्न हिमालतिर जाने भनेर पनि हिंडेको थिएँ । हरिद्वारमा पनि अध्ययनका लागि जान खोजेको थिएँ । यो सात सालभन्दा अगाडिको कुरा हो ।
काँग्रेस कसरी हुनुभयो  ?
००७ सालमा काँग्रेसले राणाविरोधी आन्दोलन थालेको थियो । पिताजी काँग्रेसमा सामेल हुनुभयो । म मात्र १४–१५ वर्षको थिएँ । पिताजी प्यूठान कब्जा गर्न दलबलसहित जानुभयो । त्यसपछि सल्यान जानुभयो । ती दुवै ठाउँमा म पिताजीसँगै गएको थिएँ । फर्केर आएपछि प्यूठानको काँग्रेसको संगठनमा लागें । जिल्ला सदस्यसम्म भएको थिएँ । ००७ सालको आन्दोलनको समयमा काँग्रेसमा लागें । ००७ सालको आन्दोलनपछि असन्तुष्ट विद्यार्थीले आन्दोलन थाले । बीपी कोइराला गृहमन्त्री भएकै बेलामा विद्यार्थी आन्दोलनमा दमन भयो । चिनियाँकाजी श्रेष्ठलगायतका विद्यार्थीको हत्या भयो, त्यसपछि काँग्रेस ठीक लागेन र ००८ सालतिर पार्टीबाट राजीनामा दिएँ ।
काँग्रेस छाडेर कम्युनिष्ट चाहिं कसरी हुुनुभयो ?
पिताजी पहिल्यैदेखि काँग्रेसमा हुनुभएकाले होला मभित्र कम्युनिष्टविरोधी भावना थियो । अर्को कुरा आर्य समाजमा रहेको हुनाले पनि कम्युनिष्टविरोधी भावना प्रचुर थियो । कम्युनिष्टहरुको खण्डन गर्न उनीहरुका कुरा बुझ्न जरुरी छ भनेर माक्र्सवादी साहित्यको अध्ययन गर्न थालें । त्यतिखेर काठमाण्डुमा धेरै नै माक्र्सवादी अध्ययन मण्डलीहरु थिए । त्यसैमा अध्ययन गर्दै जाँदा विस्तारै माक्र्सवादी–लेनिनवादी दर्शनतिर झुकाव बढ्न थाल्यो । कम्युनिष्ट सिद्धान्त र दर्शनबाट प्रभावित भएँ । दुई वर्षजति अध्ययन गरें । त्यसपछि २०१० सालमा कम्युनिष्टको सदस्यताका लागि आवेदन दिएँ । त्यसपछि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर काम गर्न थालें । जीवनको ६ दशसम्म त्यसैमा बिताइसकें ।
पुष्पलाल श्रेष्ठ जसले नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गरे, उनैलाई किन गद्धार भन्नुभएको नि ?
कम्युनिष्ट पार्टीमा लागेको वर्षाै‌ बितिसकेको थियो । पुष्पलालसँग पनि लामो संगत भएको थियो । महेन्द्रले जननिर्वाचित सरकारलाई ‘कू’ गरेपछि २०१७ सालको आन्दोलन भयो । सोही वर्ष हाम्रो भारतको दरभंगामा महाधिवेशन भयो । इतिहासमा त्यसलाई दरभंगा प्लेनम भन्ने गरिएको छ । त्यहाँ पुष्पलालसँग हाम्रो चर्को मतभेद भयो । उनले विघटित संसदको पुनस्र्थापना हुनुपर्छ भनेका थिए ।

निर्मल लामा र मैले संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने दृष्टिकोण अगाडि सारेका थियौं । २०१८ सालतिर म जेल परें । ९ वर्ष लामो जेल जीवन बिताएँ । रिहा भएको एक वर्ष वर्षपछि फेरि जेल परें । २०२६ सालमा भद्रगोल जेलमा हाम्रो भेला भयो । त्यसमा म, निर्मल लामा, कमल कोइराला, भक्तबहादुर श्रेष्ठसहित देशका विभिन्न भागमा कम्तिमा १५/१६ जना साथीहरु थियौं । तेश्रो महाधिवेशनपछि नै पार्टीको केन्द्र टुटिसकेको थियो । पुष्पलालको एउटा समूह बन्यो, त्यसको अफिस बनारसमा थियो । तुलसीलालको एउटा ग्रुप थियो, त्यो दिल्लीमा बस्थ्यो । काठमाण्डु, विराटनगर र पश्चिममा पार्टीका बेग्लाबेग्लै कमिटीहरु थिए । पार्टी विकेन्द्रित अवस्थामा थियो । हाम्रो भेलाले माक्र्सवाद–लेनिनवाद–माओविचारधाराका आधारमा राजनीतिक प्रस्ताव पारित गरेको थियो । प्रस्तावमा नेपाली काँग्रेसप्रतिको पार्टीको पूरानो सोचाइलाई हामीले परिवर्तन गर्‍यौं । त्यसअघि काँग्रेस राष्ट्रिय पुँजीपति वर्गको प्रतिनिधि हो भन्ने पार्टीको ठम्याई थियो ।

त्यसकारण नयाँ जनवादी क्रान्तिको ऊ सहयोगी शक्ति हो भन्ने सोचाइ थियो । तर हामीले नयाँ विश्लेषणमा भन्यौं कि काँग्रेस दलाल पुँजीपति वर्गको पार्टी हो । त्यसकारण ऊ प्रतिक्रियावादी र दुश्मन शक्ति हो भन्ने निर्णय गर्‍यौं । हामी जेलबाट बाहिर आउँदा पनि पुष्पलालको काँग्रेसप्रतिको दृष्टिकोण सकारात्मक नै थियो । उनले मित्र शक्ति नै भनिरहे । हाम्रो विश्लेषण के रह्यो भने दुश्मन शक्तिलाई मित्र देख्ने गद्धार हो । त्यही आधारमा नै हामीले पुष्पलाललाई गद्धार भन्यौं । त्यसबेला ‘गद्धार पुष्पलाल’ भन्ने पुस्तक पनि निस्किएको थियो । तर धैरैपछि हामीले त्यो निर्णयलाई सच्यायौं । हामीलाई पुष्पलालका बारेमा गरेको विश्लेषण सही थिएन भन्ने लाग्यो । नेपाली काँग्रेसप्रति नरम दृष्टिकोण रहेको हुनाले पुष्पलाललाई काँग्रेस परस्त भन्न सकिन्थ्यो, दक्षिणपन्थी भन्न सकिन्थ्यो । तर नेपालको सन्दर्भमा राजाप्रति र पञ्चायती व्यवस्थाप्रति उनको लगातार सम्झौताहीन संघर्षको दृष्टिकोण रह्यो । त्यो अवस्थामा उनलाई गद्धार भन्न हुँदैनथ्यो । त्यसो भनेर गल्ती भएको थियो ।
पहिला पुष्पलाललाई जे कारणले  गद्धार भन्नुभएकाे थियाे अहिले त्यही लाइनमा अाइपुग्नुभयाे है ?
त्यही भएर त गल्ती भयाे भनेका हाै‌ । हामीले चौथो महाधिवेशन अवागै पुष्पलालसँग पार्टी एकता गर्ने कोसिस गरेका थियौं । राजनीतिक मतभेदहरुका बाबजुद माओविचारधारा मान्ने कम्युनिष्ट समूहहरुबीच एकता गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो । त्यसैले मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठसँग एकता गर्‍यौं । तुलसीलालसँग एकता नगर्ने भन्ने नै नीति थियो । किनकी उनी सोभियत संसोधनवादी विचारका पक्षपाती थिए ।DSC08540

पुष्पलाल भने एकताका लागि तयार भएनन् । उनले एकताका लागि गोरखपुर सम्मेलनले बनाएको केन्द्रीय समितिमा सबै सामेल हुनुपर्ने सर्त अघि सारे । अन्यथा यी सबै छरिएर रहेका समूहलाई मिलाएर एकता गर्ने पक्षमा म छैन भने उनले । उनीसँग एकताको प्रयास असफल भएपछि म, निर्मल लामा, भरतमोहन, कमल कोइराला र जयगोविन्द साह भएर २०३० साल फागुनमा सिरहामा महाधिवेशन गर्ने निर्णय गर्‍यौं । हाम्रो लाइनमा मनमोहन पहिल्यैदेखि असहमत थिए । उनले गोप्य रुपमा महाधिवेशन गर्न लागेको कुरा बाहिर ल्याएदिए ।

त्यसपछि आकस्मिक बैठक बसेर महाधिवेशन स्थगनको निर्णय गरियो । किनभने सम्मेलनका लागि देशभरबाट साथीहरु सिरहा आउँदै थिए । सबै पक्रने खतरा भयो । बैठकले मनमोहनलाई पार्टीको गोप्यता भंग गरेको आरोपमा केन्द्रीय न्यूक्लसको सचिवबाट निष्काशनको निर्णय गर्‍यो । फोनको चलन थिएन, ठाउँठाउँमा मानिस पठाएर साथीहरुलाई बाटैमा रोकियो । महाधिवेशन पनि २०३१ सालको असारका लागि सारियो । तर भदौमा महाधिवेशन गरियो । महाधिवेशनमा भरतमोहन, कमलहरु सहित काठमाण्डुका साथीहरु कोही पनि आएनन् । तर मनमोहनलाई कारबाही गर्नमा भने उनीहरु सहमत थिए । बनासरको चौथो महाधिवेशनमा म, जयगोविन्द र चित्रबहदुर केसीलगायत थियौं ।
मोहन वैद्यलाई कसरी पार्टीमा ल्याउनुभयो ?
मोहन वैद्यलाई चौथो महाधिवेशनबाट केन्द्रीय समितिमा ल्यायौं । तर त्यसबेला महाधिवेशनमा सहभागी हुनुहुन्थेन । गिरफ्तारीमा पर्नुभएको थियो, जेलमा भएकै अवस्थामा पहिलोपटक केन्द्रीय समितिमा राखिएको थियो ।
तपाईं र वैद्य त जिल्लाबासी पनि हो, कतिपय सोचाई पनि मिल्छन् होला ?
हाम्रा बीचमा कयौं कुरामा मतभेद र संघर्षहरु भए । विवादका कारण पार्टी नै अलग भयो । उहाँले अहिले लिएका कतिपय लाइनमा हाम्रो मतभेद छ । कतिपयमा भने नजिक छौं । उहाँले नयाँजनवादी क्रान्तिको कुरा गर्नुहुन्छ । प्रचण्डहरु नेपालमा बुर्जुवा जनवादी क्रान्तिका आधारभूत कार्यनीति पूरा भइसक्यो भन्नुहुन्छ । वैद्यले भनेजस्तो अहिले पनि नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता छ, त्यसमा हामीहरुको कुरा मिल्छ । राष्ट्रियताका पक्षमा उहाँले जोड दिनुहुन्छ, त्यसमा हाम्रो सहमति छ । भारतीय विस्तारवादविरुद्धमा कुरा उठाउनुभएको छ, त्यसमा मिल्छ । तर जातीय आधारमा प्रदेश बनाउने कुरामा गम्भीर प्रकारको मतभेद छ । तत्कालीन कार्यदिशाको कुरामा पनि मतभेद छ । उहाँहरु अहिलेको संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कुराको औचित्यता छैन भन्नुहुन्छ । उहाँहरु उच्चप्रकारको जनसंविधान चाहिन्छ भन्नुहुन्छ । मजदुर, किसान, महिला, दलित, जनजातिका पक्षमा र साम्राज्यवादविरोधी संविधान बनोस् भन्नुहुन्छ । सैद्धान्तिक रुपमा हाम्रो त्यसमा मतभेद छैन । तर तात्कालिक रुपमा त्यो सम्भव छैन । किनभने माक्र्सवाद–लेनिनवादले भन्छ कि जनक्रान्ति पूरा नभएसम्म जनसंविधान बन्न सक्दैन । २०६२/०६३ सालमा बुर्जवाहरुसित समेत मिलेर गरेको राजनीतिक समझदारी र त्यसका आधारमा बनेको संविधानसभाका आधारमा अहिल्यै जनवादी संविधान आउन सक्दैन । उहाँले भनेको जस्तो वर्तमान संविधानसभा विघटन गरेर गोलमेच सम्मेलनका आधारमा के जनवादी संविधान बन्न सक्छ त ? नेपालजस्तो निरंकुश राजतन्त्रको पृष्ठभूमिबाट आएको देशमा, जहाँ सामन्ती प्रकारको व्यवस्था विद्यमान छ । औपनिवेशिक शोषण छ । यस्तो अवस्थामा बुर्जुवा प्रकारको संविधानसभाबाट संविधान बनाउन आवश्यक छ । त्यसरी मात्र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्छ ।
वैद्यहरुले तपाईंमाथि कारबाही गरेको चाहिँ किन नि ?
पहिला जलजलासँगको प्रेम प्रसंगमा मलाई पार्टीले कारबाही गरेको हो । पाचौं सम्मेलनमा पनि चरित्रसम्बन्धी आरोपहरु लगाएर ममाथि कारबाही भयो ।
तपाईं ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा हुनुहुन्छ, कहिलेकाहीं विरक्त लाग्दैन ?
विरक्त लागेको भए त म अहिले पार्टीमा हुने नै थिइन । जब पार्टी र आन्दोलनको औचित्यता छैन भन्ने लाग्छ, त्यतिबेला मात्र मानिसलाई विरक्त लाग्ने हो । अहिले पनि पार्टी र पार्टीको उद्देश्यप्रति पूरा विश्वास छ । त्यसैले दृढतापूर्वक त्यसैमा लागिरहेको छु ।
त्यो त तपाईंले भन्ने कुरा भयो, तर ६ दशकसम्म कम्युनिष्ट पार्टीमा लागेर जनतालाई के दिनुभयो र ?
यसलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्नुपर्छ । बाहिरी रुपमा हेर्दा जनताले केही पाएनन् भन्ने कुरा सत्य हो । कम्युनिष्ट आन्दोलनले कुनै परिणाम दिएन भन्ने कुरा म स्वीकार गर्दिन । नेपालका कम्युनिष्टहरुले कयौं विषयमा लगातार संघर्ष गरेका छन् र सफलता हात पारेका पनि छन् । जस्तो बिर्ताप्रथा उन्मुलन, मोहियानी हकलगायतका उपलब्धी हासिल भएका छन् । राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको छ ।

हिन्दू राज्यबाट धर्मनिरपेक्ष राज्यमा परिणत भएको । सामान्तवादको अन्त्य भएको छ । राज्य सत्ताको चरित्रमा कुनै अर्थपूर्ण परिवर्तन नभए पनि समाजमा धेरै सुधार र परिवर्तन कम्युनिष्टहरुकै कारण आएको हो । जनताको चेतनामा ठूलो परिवर्तन ल्याएको छ । माक्र्सवादले गुणात्मक र मात्रात्मक परिवर्तन हुन्छ भन्छ । मात्रात्मक परिवर्तन सुस्त हुन्छ र गुणात्मक परिवर्तन मात्रात्मक परिवर्तनको प्रभाव स्वरुप हुने विस्फोटहरु हुन् । त्यसकारण कम्युनिष्ट आन्दोलनले कहिले मात्रात्मक परिवर्तन र कहिले गुणात्मक परिवर्तन गराउँछ ।
हामीलाई आन्दोलनमा लाग्नुपूर्व नै के थाहा थियो भने यो कयौं पुस्तासम्म चल्ने संघर्ष हो । तात्कालिक फाइदा, पद वा सत्ताका लागि कम्युनिष्ट आन्दोलनमा लाग्ने होइन । हो त्यस्तो सोचेर लाग्नेहरु आफूले सोचेको कुरा पाएनन् भने निराश हुने गर्दछन् । जसले दीर्घकालीन हिसाबले सोचेर आन्दोलनमा लाग्छ, ऊ निराश हुनुपर्ने कुनै कारण छैन ।
तपाइंले भनेका कुरा सैद्धान्तिक आधारमा ठीकै होला, तर २००६/००७ सालमा हजुरबाको पालादेखि अहिले नाति/पनातिको पालासम्म मुक्ति, वर्ग संघर्ष, माक्र्सवाद, समाजवाद, जनवादी क्रान्ति आदिजस्ता एउटै कुरा भन्दै आउनुभएको छ, त्यसले मानिसको जीवनमा चाहिं केही न केही परिवर्तन आउनु पर्दैन भनेको ?
हामीले माक्र्सवादीहरुले जसरी माम्र्सवादको वकालत गरिरहेका छौं । धार्मिक मानिसहरुले पनि सधैं एउटै कुरा गरिरहन्छन् । उनीहरु धर्म, वेद, पूराणका औचित्यलाई शताब्दीयौंसम्म स्वीकार गर्छन् । माक्र्सको जमानाभन्दा पहिलेदेखि नै समाजवादको बहस चलेको हो ।  के आजको दुनियाँमा कसैले समाजवाद ठीक छैन भनेर तथ्यसंगत खण्डन गर्न सकेको छ ?

अल्पकालिन सोचाई भएका मानिसहरुका लागि यी सबै कुरा मात्र आदर्श र व्यवहारमा लागू नहुने कुराजस्तो लाग्न सक्छ । तर हामीले व्यक्तिगत रुपमा कति फाइदा वा घाटा भयो भन्ने आधारमा भन्दा पनि समाजमा कति परिवर्तन भयो र भविष्यमा कति परिवर्तन हुने सम्भावना छ, त्यसका आधारमा हेर्छौं । उदाहरणका लागि हेरौं न नेपालमा पञ्चहरुले पञ्चायती व्यवस्थालाई निर्विकल्प भनेका थिए । ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्ने त उनीहरुको नारा नै थियो । तत्कालको फाइदा हेर्ने नेपाली काँग्रेसका कयौं नेता पञ्चायतमा प्रवेश गरेर मन्त्री, प्रधानमन्त्री, अञ्चलाशीध सिडियो भए, हामी कम्युनिष्टहरुले त्यसो गरेनौं । परिणामस्वरुप एक दिन त्यो त ढल्यो नि ।
तपाईंसँग कोही सँगै काम गर्न सक्दैनन् रे, साह्रै संकीर्ण र साँधुरो घेरा भएको मान्छे हुनुहुन्छ रे नि ?
त्यो त पार्टीबाट भागेकाहरुले लगाउने आरोप हो । हाम्रो पार्टीबाट व्यक्तिगत जीवनमा तत्काल लाभ लिन नसक्ने देखेपछि बाहिर गएर त्यस्तो आरोप लगाउँछन् । सत्तामा पुग्ने सम्भावना जताबाट हुन्छ, कसरी आफूलाई फाइदा हुन्छ त्यतिपट्टि लाग्नेहरुले लगाएका आरोप मात्र हुन् । त्यसमा कुनै सत्यता छैन ।
कम्युनिष्ट केन्द्र बनाउने कुरा बेलाबेलामा बहसमा आइरहन्छ, तपाईं नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्ने सम्भावना देख्नुहुन्छ ?
कम्युनिष्ट केन्द्र बन्ने भनेको विचार, राजनीति, कार्यदिशाका आधारमा हो । सबै कम्युनिष्टहरु एउटै खेमामा जम्मा हुनु राम्रो कुरा हो । तर त्यसको आधार भनेको कम्युनिष्ट, सिद्धान्त र राजनीति हुनुपर्छ । मान्यताहरुलाई एकातिर पन्छाएर पदको जसरी हुन्छ एकजुट हुने र पदको भागबण्डा हुने हो भने कम्युनिष्ट एकताको अर्थ हुँदैन । थरिथरि विचार, नीति, सिद्धान्त र मान्यता भएका कम्युनिष्टहरु एक ठाउँमा आउन गाह्रो  छ । तर विचारहरु मिल्नेका बीचमा चाहिं एकता हुन सक्छ ।
कसरी सम्भव छ त कम्युनिष्ट एकता ?
कम्युनिष्ट एकता हुने भनेको नीति, कार्यक्रम र विचारमा आधारमा हो । जस्तो जातीवादलाई मान्ने र नमान्ने दुवैथरि कम्युनिष्ट छन् । कम्युनिष्टहरुले वर्गको कुरा गर्ने हो, जातजातिको राज्य ल्याउने कुरा गर्ने होइन । जातको कुरा गर्ने कोही पनि सच्चा कम्युनिष्ट हुन सक्दैन । जातिवादी कम्युनिष्टहरुसँग हाम्रो एकता हुन सक्दैन । त्यसै गरी उनीहरु हामीसँग एकता गर्न तयार हुँदैनन् । कुनैबेला केशरजंग रायमाझीले पनि त्यस्तो विचार ल्याएका थिए । उनले राजाको विरोध गर्ने होइन, राजासँग एकता गरेर जानुपर्ने बताएका थिए । अहिले अर्को अपभ्रंसका रुपमा जातीय नारा आएको छ । नीति नमिली एकताको कुरा गर्नु भ्रामक सोचाई मात्र हो ।

नेपालमा रहेका कम्युनिष्टहरुमध्ये सबैभन्दा नजिकको शक्ति कसलाई मान्नु हुन्छ ?
यो त हामीले भन्ने होइन । नीतिहरुका आधारमा जनताले छुट्याउने कुरा हो । जस्तो एमाओवादीले जातिवादको वकालत गरिरहेको छ । मधेसवादीसँग गठबन्धन गरेको छ । नागरिकता सम्बन्धमा गलत नीति अख्तियार गरेको छ । हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजिवादी जनवादी क्रान्ति पूरा भयो भन्ने निष्कर्ष निकाल्यो । त्यसको अर्थ हो साम्राज्यवादविरुद्ध संघर्षको नीति जरुरी छैन ।

वैद्यहरु पनि जातिवादी सोच राख्छन् । संविधानसभा विघटन गर्नुपर्छ भन्छन् । लोकतान्त्रिक संविधान र लोकतान्त्रिक गणतन्त्र आवश्यक छैन भन्छन् । एमालेसँग त झन टाढाको सम्बन्ध भइसक्यो, एकता गर्ने त कुरै छाडौं । हाम्रो नीतिमै छेउटुप्पो मिल्दैन ।
सबै पार्टीका नेताले अहिले भएकामध्ये सबैभन्दा वरिष्ठ तपाईं नै हो, एउटै पार्टी बनाऔं, नेतृत्व लिनुस् भन्न आए भने के गर्नुहुन्छ ?
खाली पद र सिटका विभाजनका आधारमा मात्र एकता हुन सक्दैन । सिद्धान्त र नीति एक भयो भने सेल कमिटीमै बसेर पनि काम गर्न सकिन्छ । एमाले वा एमाओवादीबीच एकता हुनसक्छ । उनीहरु दुईमध्ये एउटा अर्काको नीतिमा जाँदा फरक पर्दैन । किनभने उनीहरु नजिक छन् । तर जसको नीति र सिद्धान्तमै ठूलो खाडल छ, उनीहरुका बीचमा एकता सम्भव छैन । विचार र सिद्धान्त नमिल्नेबीच हुने एकताको औचित्य नै हुँदैन ।
तपाईं आफैंलाई चाहिं कहिले काहीं सक्रिय राजनीतिको अन्तिम चरणमा छु, एकपटक सबैलाई मिलाएर एउटै पार्टी हाँक्छु भन्ने लाग्दैन ?
कम्युनिष्ट पार्टीहरु सैद्धान्तिक रुपले चिराचिरा परेका छन् । त्यो सम्वभ र व्यवहारिक दुवै छैन । ममा सबैलाई मिलाउँछु र सबैका नेता हुन्छु भन्ने महत्वकांक्षा पनि छैन । तर खासखास अवस्थामा इस्युका आधारमा कार्यगत एकता गर्न सकिन्छ । जसरी २०४६ सालमा र ०६२/०६३ सालमा भएको थियो । तर पार्टी नै एकीकृत हुने भन्ने कुरा त्यति व्यवहारिक हुन्छ जस्तो लाग्दैन ।
एमाओवादीमा प्रचण्ड र बाबुराम भट्टराई पक्षबीच जारी विवादलाई कसरी हेर्नुभएको छ ?
उनीहरुका बीचमा आधारभूत प्रकारको सैद्धान्तिक मतभेद भएको देख्दिन । उनीहरुको विवाद पार्टीभित्रको पदका लागि हो । पदका लागि थियो भन्ने कसरी पुष्टि हुन्छ भने दुई पक्षबीच पदको भगवण्डामा कुरा मिलेपछि विवाद केही मत्थर भएजस्तो देखिएको छ । पहिला ९९ जनाको केन्द्रीय समिति बनाउने कुरा थियो, अहिले बाबुराम पक्षलाई समेत समेटेर १ सय ५१ सदस्यीय समिति बनाउने भनेपछि कुरा मिलेको देखियो ।
बाबुराम पक्षबाट यो नीति र विचारका आधारमा हाम्रो मतभेद भएको हो भनेर बाहिर आएको छैन । अर्को कुरा प्रचण्डमा नेपालमा जातीय राज्य हुनुपर्छ भन्ने सोच हावी छ । बाबुराममा त्यो कम छ ।
तपाईंले प्रचण्ड–बाबुराम दुवैसँग काम गर्नुभयो, उनीहरुबीच पहिल्यै मतभेद थियो कि बीचमा आएर यस्तो हुन थालेको ?
उनीहरुबीच आधारभूत रुपमा पहिल्यैदेखि विवाद थियो । दुईजनाको सोच्ने तरिकामै फरक छ । उनीहरुबीच वैचारिक राजनीतिक विषयमा मतभेद कहिल्यै भएको छैन । पार्टीको सत्तामा को हाबी हुने भन्ने कुराका लागि मात्र संघर्ष हो । विवादको अर्को कारण भनेको उनीहरुको कमिटी प्रणाली हो । उनीहरुको संगठन माक्र्सवादी–लेनिनवादी प्रणालीका आधारमा बनेको छैन । अराजकता र अनुशासनविहीनता बढेको छ । त्यसले के देखाउँछ भने प्रश्न प्रचण्ड वा बाबुरामको होइन, उनीहरुको संगठनात्मक प्रणाली नै माक्र्सवादी–लेनिनवादी लिकबाट धेरै पछि हटेको देखिन्छ । उनीहरुभित्रका मतभेद जसरी बाहिर प्रकट भएका छन्, यो माक्र्सवादी–लेननवादी अनुशासन पद्धतिसँग मेल नखाने कुरा हो ।
बाबुराम भट्टराई तपाईंको पार्टीमा छँदा वुद्धिजिवीहरु अवसरवादी हुने भएकाले उनलाई जिल्ला कमिटीभन्दा माथिको जिम्मेवारी दिनुहुन्न भन्नुभएको रहेछ होइन ?
वुद्धिजिवी मात्र होइन, किसान वा अरु जोसुकै पृष्ठभूमिबाट पार्टीमा आउनेहरुका हकमा हाम्रो समान दृष्टिकोण छ । हाम्रो पार्टीको आफ्नै पद्धति छ । कुनै पनि नयाँ सदस्यलाई पार्टीमा ल्याएपछि ४ महिना, ६ महिना, एक वर्ष वा दुई वर्षसम्म पनि उनीहरुलाई उम्मेदवारको अवस्थामा राख्छौं । उसले पूरानो समाजबाट जुन संस्कार लिएर आएको छ, त्यो संस्कारबाट कति मुक्त भयो र पार्टीको दृष्टिकोण, अनुशासन अपनाउन कति इच्छुक छ भन्ने कुराको जाँचबुझ गर्छौं । त्यसपछि पार्टीमा जिम्मेवारी दिइन्छ र माथिल्लो कमिटीमा ल्याउने बेलामा उसको दृष्टिकोणमा कति सुधार भएको छ त्यो हेरिन्छ ।

बाहिरबाट आउने मानिसहरुले व्यक्तिगत फाइदा वा मलाई पार्टीबाट व्यक्तिगत रुपमा के लाभ हुन्छ भन्ने दृष्टिकोणबाट सोचेका हुन्छन् । जुन मान्छेमा वर्गीय दृष्टिकोण कमजोर छ, उसले क्रान्तिकारी आन्दोलनमा भूमिका खेल्न सक्दैन । त्यस्तो मान्छेले अनुशासनमा बस्न पनि सक्दैन । टिकेर काम गर्न पनि सक्दैन । कतिपय पार्टीमा क्षमता वा साहस कति छ भनेर जिम्मेवारी दिन्छन् । तर हाम्रो पार्टीमा दृष्टिकोण स्पष्ट नभएसम्म माथिल्लो स्तरको जिम्मेवारी पाइँदैन । कुनै पक्षले तुरुन्तै केन्द्रीय समिति वा पोलिट्ब्युरोमा स्थान खोज्ने होइन नि । पार्टीको नीति, सिद्धान्त, कार्यक्रम मानेर आउने हो । पदका लागि बार्गेनिङ गरेर आउने होइन । सिद्धान्त र नीति स्वीकार गरिसकेपछि पार्टीको सेल कमिटीमा बसेर पनि काम गर्न तयार हुनुपर्छ, महामन्त्री भएर पनि काम गर्नुपर्छ भन्ने हामी ठान्छौं ।
भनेपछि बाबुराम भट्टराई भनेको निश्चित अनुशासन र कमिटी प्रणालीमा बसेर काम गर्न नसक्ने नेता हो ?
म कसैमाथि व्यक्तिगत रुपमा त्यसरी आरोप लगाउन चाहान्न । मैले प्रवृत्तिका रुपमा मात्र संकेत गर्न खोजेको हो । हाम्रो पार्टीमा पार्टी सदस्यदेखि केन्द्रीय नेतृवसम्मका लागि एउटा पद्धति छ । जहाँसम्म बाबुराम भट्टराईको कुरा छ, उहाँलाई पार्टीमा ल्याउने बेलादेखि नै केन्द्रीय कमिटीमा छलफल चलेको हो । एउटा सन्दर्भमा कुनै व्यक्तिका बारेमा पार्टीभित्र भएको छलफललाई यस्तो भएको थियो भनेर बाहिर ल्याउन मिल्दैन ।
तपाईंले जिल्ला सदस्यसमेत नपत्याएको मान्छेलाई प्रचण्ड र वैद्यले एकैपटक पोलिट्ब्युरो सदस्य बनाएर गल्ती गरेका हुन् ?
अरु कतिपय पार्टीमा एकैपटक माथिल्लो नेतृत्व दिने चलन छ । एकीकृत माओवादीमा पनि त्यस्तै छ । तर हाम्रोमा त्यस्तो पद्धति सुरुदेखि ने थिएन, अहिले पनि छैन ।
युवापुस्तामा राजनीति र कम्युनिष्ट आन्दोलन दुवैप्रति जुन वितृष्णा देखिएको छ, त्यसमा कुन कारणले काम गरेको ठान्नुहुन्छ ?
आमरुपमा मानिसहरुमा राजनीतिप्रति वितृष्णा छ भन्ने कुरा सत्य होइन । यदि त्यो सत्य हो भने निर्वाचनका बेलामा किन लाखौं मानिसहरुले भोट दिन्थे । हाम्रै पार्टीका DSC08533साथीहरुले एक लाखभन्दा बढी भोट पाएका छन् ।

कतिपय पार्टीका उम्मेदवारले आफ्नो पक्षमा भोट लिन भन्दै पैसा दिए, गुण्डागर्दी गरे, धम्की दिए, सत्तामा पुगेपछि जागिर लगाइदिने आश्वासन दिए तर पनि मानिसहरुले निष्ठा र आस्थाका आधारमा हाम्रो जस्तो पार्टीलाई भोट हाल्दा रहेछन् भन्ने त देखियो नि । यसले नै सबै मानिसमा राजनीति वा कम्युनिष्ट पार्टीप्रति वितृष्णा छ भन्ने सत्य होइन भन्ने पुष्टि गर्छ ।
कम्युनिष्ट पार्टीभित्र परिवारवाद छ भन्छन्, खासमा यो समस्या कत्तिको छ ?
कम्युनिष्ट पार्टीमा परिवारवाद हाबी छ भन्ने कुरा सत्य हो । परिवारवादकै कारण पार्टीमा कुनै भूमिका नभएकाहरुले लाभको पद ओगट्ने गरेका छन् । आफ्नो पारिवारिक मान्छे भएकै कारणले लाभका पदहरु वा पार्टी नेतृत्वमा लैजाने गरिएको छ । यो कम्युनिष्ट आन्दोलनमा आएको विकृतिको परिणाम हो ।
आफ्नै श्रीमतीलाई समानुपातिकबाट संविधानसभाको सभासद बनाएको मान्छेले परिवारवादको विरोध गर्न सुहाउँछ ?
कसैको श्रीमती भएकै आधारमा मात्र पदमा लैजानु राम्रो होइन । तर दुर्गा (सभासद् दुर्गा पौडेल) का हकमा त्यो कुरा लागू हुँदैन । उनी मसँग विहे गर्नुभन्दा धेरै अगाडिदेखि संघर्षमा छिन् । २०४२ सालदेखि लगातार पार्टी काममा सक्रिय छिन् । उनले महिला संघको अध्यक्ष भएर काम गरेकी छन् । मुलुकमा भएका मुख्यमुख्य महिला आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी छन् ।

सम्पत्तिमा महिलाको समान अधिकारका लागि संघर्ष गरेकी छन् । राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी छन् । अहिले राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष छिन् । उनले आन्दोलनमा भूमिका नभइकन खाली नाताका आधारमा मात्र ल्याएको भए त्यो गलत हुन्थ्यो । मसँगको सम्बन्धका कारणले मात्र ल्याएको भन्ने कुरा गलत हो । कतिपय मानिसहरु पार्टीमा परिवारका मान्छेहरुलाई ल्याउनुहुँदैन भन्छन् । तर हामी त सपरिवार पार्टीको काममा छौं ।
उहाँजत्तिको भूमिका खेलेका महिला तपाईंको पार्टीमा अरु पनि त होलान् नि ?
अरु पनि छन्, तर उनीहरुमध्ये कसलाई संविधानसभामा पठाउँदा उपयुक्त हुन्छ भनेर पार्टीमा छलफल गरेरै दुर्गालाई पठाइएको हो । अरु महिलाभन्दा उनी उपयुक्त महिला हुन भनेर पार्टी केन्द्रले सर्वसम्मतिले संस्थागत निर्णय गरेरै पठाएको हो । मेरो मात्र कारणले भएको होइन ।
आउँदो माघ ८ गतभिध नयाँ संविधान बन्ला त ?
संविधान निर्माणमा कयौं बाधाहरु भएकाले त्यो अनिश्चित छ । तर जोड चाहिं बनाउने कुरामा हुनुपर्छ । अब संविधान बन्दैन भनियो भने त सबै सकिएको घोषणा गरे भइहाल्यो । संविधान निर्माणमा धेरैथरिका बाधा छन्, सबैभन्दा धेरै बाधा एकीकृत माओवादीबाट छ । जब उसले जाीतय मुद्धा लिएर चुनावमा गयो र पराजित भयो । उसले जातीय र क्षेत्रीय प्रकारको संघीयता नभई संधिवान बन्न दिंदैनौ भनिरहेको छ । त्यही कुरामा मधेसवादीहरुको पनि जोड छ । उनीहरुले एक मधेस–एक प्रदेश वा आत्मनिर्णयको अधिकार नभएसम्म संविधान बनाउन नदिने र बने पनि स्वीकार नगर्ने बताइरहेका छन् ।

राजावादीहरुको जोड पनि हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापना गर्नेमा छ । अरु प्रकारको संविधानलाई असहयोग गर्न बाधा हाल्ने उनीहरुको प्रयत्न छ । भारतमा नरेन्द्र मोदीको सरकार आएको हुनाले राजा फर्काउन हामीलाई बल पुग्छ भन्ने मनोविज्ञान राजावादी शक्तिहरुमा देखिएको छ । नेपाली काँग्रेस र एमाले ढुलमुले नीतिमा अगाडि बढेका छन् । ती दुई पार्टी स्पष्ट दृष्टिकोणका आधारमा अघि बढ्न सकेका छैनन् । उनीहरुमा संविधान निर्माणका व्यवधानहरुसँग दृढतापूर्वक जुध्ने आँट कमजोर छ । माओवादीको वैद्य पक्ष संविधान बन्नै नदिने भनेर लागिपरेको छ । संविधानसभा विघटन हुनुपर्ने माग अघि सारिरहेको छ । यो सबै कुराको पृष्ठभूमिमा संविधान बन्ने अनिश्चित छ । तर हाम्रो चाहना समयमै संविधान बनोस् भन्ने छ । त्यसका लागि कोसिस पनि गर्छौं ।
एमाओवादी जातीय संघीयताको नाराले हारेको मान्ने हो भने तपाईंको पार्टी त त्यसको धुरन्धार विरोधी हो, खैत ठूलो भएको ?
एमाओवादीको साइज पहिला जत्रो थियो, त्यसको तुलनामा धेरै हारेको छ । उसका सिट संख्या घटेको छ । भोटको प्रतिशत घटेको छ । हामीले २०६४ सालको निर्वाचनमा ०.९९ प्रतिशत भोट पाएका थियौं । अहिले ०.९८ प्रतिशत आएको छ । अहिले प्वाइन्ट एक प्रतिशत घटेको छ । तर त्यो ठूलो होइन । अर्को कुरा अहिलेको चुनावमा मतदातामा कमी आयो । फोटोसहितको मतदाता परिचयपत्रका कारण नागरिकता नभएकाहरुले भोट हाल्न पाएनन् । त्यसकारण भोट घट्यो । जातीय संघीयताको देशधर विरोध गर्ने हामी मात्र हौं । काँग्रेस–एमाले पनि जेठ २ गतेको सहमति अगाडि संघीयताका बारेमा प्रष्ट थिएनन् । माओवादीकै पछि लागेर हिंडेका थिए । एमाओवादी र मधेसवादीको दबाबमै काँग्रेस–एमालेले संघीयता स्वीकार गरेका हुन् ।
जातीयताको विरोध गर्दा हाम्रा साथीहरुमा माओवादी र मधेसवादीहरुबाट कयौं ठाउँमा कुटाई खाएका छन् । जातिवादी र क्षेत्रीयतावादीको हार हुनु नै हाम्रो ठूलो नीतिगत सफलता हो ।
न्तिममा, भारतको राजनीतिमा नरेन्द्र मोदीको उदयलाई कसरी हेर्नुभएको छ ?
मोदीले नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको कुरालाई बढी जोड दिन्छन् । त्यसले नेपालका राजावादीहरुलाई मद्धत पुग्ने कुरा स्पष्ट छ । तर मोदीको कारण नेपालमा राजतन्त्र नै पुनस्र्थपना हुने आधार म देख्दिन ।

प्रस्तुति: दयानिधि भट्ट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us