वार्षिक एक खर्बको कृषिजन्य उत्पादन भारतबाट आयात

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, १८ जेठ – नेपालले वार्षिक रु एक खर्ब बराबरको कृषिजन्य उत्पादन भारतबाट आयात गर्ने गरेको छ ।

नेपालले वार्षिक तरकारी फलफूल र मासुजन्य वस्तु गरी करिब रु ४५ अर्ब र चामल, गहुँ, तेल, दाललगायतका वस्तुसमेत गरी करिब रु ५५ अर्ब बराबरको कृषि उत्पादन आयात गर्ने गरेको हो ।

नेपालले कृषिको आयातलाई मात्र प्रतिस्थापन गर्ने हो भने भारतसँगको व्यापार घाटामा करिब ३८ प्रतिशतले कमी आउने विश्वास गरिएको छ ।

नेपालको भारतसँगको व्यापार घाटा वार्षिक करिव रु चार खर्ब ८० अर्ब पुगिसकेको छ ।

बल्खु कृषि तथा तरकारी बजारले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले राज्यले प्रोत्साहन दिएर कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपालमा कृषि क्षेत्रको विकासको प्रचुर संभावना भएर पनि सरकारले लागू गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अर्बौ रुपैयाँको आयात गर्नुपरेको कृषि व्यवसायीहरूको धारणा छ ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष विज्ञान अधिकारीले नेपालमा कृषि पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना रहेको जानकारी दिए ।

नेपाल कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले कृषि बजारहरू स्थापना हुँदा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्छ भन्ने उदाहरण बल्खु कृषि तथा तरकारी बजार बनेको बताए ।

सो तरकारी बजारमा माछा बिक्री गरिरहेका बारा मत्स्य व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर साहका अनुसार अहिले जिउँदा माछाको बिक्री बढेपछि माछापालनमा किसान उत्साहित भएको जानकारी दिए ।

उक्त कार्यक्रममा वक्ताहरूले खाद्यान्न जोखिमलाई नियन्त्रण गर्न, प्रस्तिस्पर्धात्मक कृषि बजारहरू स्थापना गर्न, किसानलाई समयमा मल बीउबिजन तथा बजारसम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us