सुर्तीजन्य पदार्थको उत्पादन र उपभोगमा करको दर बढाउने तयारी

काठमाण्डु टुडे २०७१ जेठ १७ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकरीले सुर्तीजन्य पदार्थको उत्पादन र उपभोगमा करको दर बढाएर आगामी आर्थिक वर्षको बजेट तयार पार्न लागिएको बताएका छन् ।

धुमपानरहित दिवसका अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थमा करको दर उपभोक्ता मूल्यभन्दा ७५ प्रतिशत थप कायम गर्नुपर्नेमा जोड दिादै आफूले अर्थमन्त्रीलाई त्यस्ता पदार्थको प्रयोगमा निरुत्साहित गर्न आग्रह गरिसकेको बताए । सुर्तीजन्य पदार्थको खपत कम गर्न राज्यले अवलम्बन गरेका नीतिको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउनका लागि सबै सरोकारवालाई सहयोग गर्न अधिकारीको आग्रह थियो ।
कार्यक्रममा स्वास्थ्य सचिव डा प्रवीण मिश्रले सबैको सहकार्यबाट मात्र सुर्तीजन्य पदार्थको खपतलाई निरुत्साहित गर्न सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न र कानुन कार्यान्वयनमा सहयोग पुर्‍याउन सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा लिन आङले सुर्तीजन्य पदार्थमा कर बढाउन सकेमा त्यस्ता पदार्थको सेवनलाई प्रभावकारीरुपमा घटाउन सकिने भएकाले त्यस कार्यमा सहयोग गर्न सरकारलाई आग्रह गरे ।

स्वास्थ विभागका निमित्त महानिर्देशक डा शैलेन्द्र उप्रेती, भन्सार विभागका निर्देशक लक्ष्मी पौडेल र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामचन्द्र पौडेलले सुर्तीजन्य पदार्थको सेवनबाट ल्याउने महामारीलाई रोक्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए      सन् १९८७ देखि सुरु गरिएको धुमपानरहित दिवस यस वर्ष (सन् २०१४) को मे ३१ तारिकलाई ‘सुर्तीजन्य पदार्थमा करको दर बढाऔं, सुर्तीजन्य पदार्थको सेवन घटाऔँ र जीवन बचाऔं’ भन्ने नाराका साथ विश्वभर मनाइरहेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवनको कारणबाट उत्पन्न हुने रोगबाट प्रत्येक वर्ष १५ हजारको अकालमा मृत्यु हुने गरेको छ भने विश्वमा प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थकै सेवनबाट मृत्यु हुने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us