एकल महिला उद्यमशील बन्दै

काठमाण्डु टुडे २०७१ जेठ १६ गते १२:५७ मा प्रकाशित

बागलुङ, १६ जेठ – पतिसँगको बिछोडपछि चन्द्रमाला बुढाको जीवन एक्लो मात्रै बनेन दैनिक जीवन गुजारा गर्न पनि उनलाई धौधौ हुन थालेको थियो । तर, पीडालाई शक्तिमा बदलेर उनले सुरु गरेको नर्सरी व्यवसाय नै आज गतिलो जीउने आधार बनेको छ भने जीवनको भरपर्दो साहारा पनि ।

विसं २०६५ देखि व्यावसायिक रुपमा नर्सरी बनाएर बिरुवा बेच्न थाल्नुभएकी निसी गाविस–१ की चन्द्रमालाले यही पेसाबाट मनग्य कमाइ पनि गर्न सफल भइन् । उनले एक्लो प्रयासमा सुरु गरेको नर्सरीमा अहिले विभिन्न प्रजातिका फलफूल, तरकारी, जडीबुटी र अन्य वनस्पतिका बिरुवा उत्पादन भइरहेका छन् । एकैसाथ १५ हजारभन्दा बढी बिरुवा नर्सरीमा उत्पादन हुने गरेको छ ।

नर्सरीमा विशेषगरी सल्लो जातका बिरुवा, डाले घाँस, फलफूल तथा जडीबुटीका बिरुवा उत्पादन गर्ने गरिएको उनले बताइन । लामो समयदेखि कृषि र सामूदायिक वनको क्षेत्रमा काम गर्दै आउनु भएकी चन्द्रमालाले नर्सरीलाई व्यावसायिक रुपमा अँगालेपछि आर्थिक उपार्जन पनि राम्रो हुन थालेको छ । “वर्षको दुई, अढाई लाख खर्च पनि हुन्छ, खर्चको तुलनामा आम्दानी पनि राम्रै छ” चन्द्रमालाले भनिन, “नर्सरीबाट उत्पादन भएका बिरुवा बेचेर वर्षको चार लाखसम्म पनि कमाइ भएको छ ।”

उनले उत्पादन गरेका बिरुवा स्थानीय रुपमै खपत हुने गरेको छ । स्थानीय सामूदायिक वनलेसमेत बिरुवा खरिद गरेर लैजाने गरेको छ । चन्द्रमाला निसीको दानाकोट महिला सामूदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत छिन् ।
यो वर्षमात्रै १० हजार बिरुवा सामूदायिक वन उपभोक्ता महासङ्घ बागलुङले खरिद गरेर त्यस क्षेत्रका उपभोक्ता समितिलाई प्रदान गर्ने भएको छ ।

जिल्ला वन कार्यालय र भिमापोखरा युवा क्लब बागलुङलेसमेत चन्द्रमालालाई तालिमसँगै आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् । “पछिल्लो समय मौसम परिवर्तनले पनि नर्सरीमा असर पुगेको छ, नयाँनयाँ सीप तथा प्रविधिको विकास भइरहेको छ तर त्यो हासिल गर्न सकिएको छैन”, उनले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us