चार जलविद्युत् आयोजनाबाट १६१ मेगावाट विद्युत् उत्पादन हुने

काठमाण्डु टुडे २०७१ जेठ १६ गते ९:१७ मा प्रकाशित

काठमाण्डु, १६ जेठ–  सरकारले चार जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भएको छ ।

मुलुकमा विद्यमान विद्युत्भार कटौती कम गर्न र ऊर्जा सङ्कटबाट केही मात्रामा भए पनि राहत प्रदान गर्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाइएका ती आयोजनामा दूधकोसी चौथो ४९ मेगावाट, म्याग्दी जलविद्युत् ३२ मेगावाट, बेनी कालीगण्डकी ५० मेगावाट र सङ्खुवासभा खोला ३० मेगावाट छन् ।

ती आयोजना सोलुखुम्बु, म्याग्दी र सङ्खुवासभा जिल्लामा छन् । ती आयोजनाबाट कुल १६१ मेगावाट विद्युत् उत्पादन हुनेछ । सरकारले ती आयोजनालाई प्रमुखताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । वर्तमान सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा ऊर्जा मन्त्रालयले दिएको जानकारीमा पनि ती आयोजनालाई आगामी आवको सुरुबाटै निर्माणको प्रक्रिया अगाडि बढाउने तयारीसमेत गरिएको छ ।

सकेसम्म सरकारले नै ती आयोजनामा लगानी गर्ने र त्यो सम्भव नभए मात्रै निजी क्षेत्रलाई निर्माणका लागि आग्रह गरिनेछ । मन्त्रालयले पछिल्लो दिनमा अघि सारेको ऊर्जा विकासको द्रुततर अभियानलाई सहयोग पु¥याउन समेत ती आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ ।

मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीका अनुसार ती आयोजनाको अध्ययनका लागि परामर्शदाता छनोटको काम अगाडि बढेको छ ।

यस्तै लम्जुङको तल्लो चेपे जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको तथा डडेल्धुराको डोटीगाड जलविद्युत् आयोजनाको स्थलगत रुपमा गरिने अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

यसैगरी ताप्लेजुङको मौवा खोला र रोल्पाको माडी खोला जलविद्युत् आयोजनाको पनि स्थलगत अध्ययनको काम सम्पन्न भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । ती आयोजनाको लामो समयदेखि निर्माण प्रक्रिया सुरु गरिने भनिए पनि विविध कारणले अवरुद्ध हुँदै आएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us