राष्ट्र बैंकले सम्हाल्यो एच एण्ड बी बैंकको व्यवस्थापन

काठमाण्डु टुडे २०७१ जेठ १४ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले एच एन्ड बी बैंकको व्यवस्थापन भंग गरेको छ । ‘गुड फर पेमेन्ट’ काण्डका कारण समस्यामा परेको एचएण्डबी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले बुधबार आफ्नो नियन्त्रणमा लिएको छ ।

hblogo

बैंकको व्वस्थापन आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका उपनिर्देशक ज्ञानकृष्ण अधिकारीको नेतृत्वमा तीन सदस्यीय व्यवस्थापन टोली पठाइएको छ ।  राष्ट्र बैंकले पठाएको व्यवस्थापन टोलीमा उपनिर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारीलाई पठाएको छ ।

बैंकको सुधार नभएसम्मका लागि नयाँ व्यवस्थापनले काम गर्नेछ । गुड फर पेमेन्ट काण्डपछि बैंक समस्यामा परेको र सुधार गर्नका लागि राष्ट्र बैंकले दिएको निर्देशन पालना नगरेपछि कारवाहीमा उत्रीनु परेको प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए ।

राष्ट्र बैंकले गुड फर पेमेन्टका चेकमा आधिकारिकता चेक गरेर आधिकारिक भए भुक्तानी गर्न र आधिकारिक नभए भुक्तानी नगरी आवश्यक कारवाहीको प्रक्रिया चाल्न निर्देशन  दिएको थियो । ‘बैंकको सञ्चालक समिति र व्यवस्थापनले राष्ट्र बैंकको निर्देशनको वेवास्ता गरेपछि जनताको निक्षेपको सुरक्षा गर्न राष्ट्र बैंकले हस्तक्षेप गरेको हो’ ज्ञवालीले भने ।
एच एण्ड बी बैंकको सञ्चालक समितिका अध्यक्ष श्रवणकुमार अग्रवाल हुन् भने प्रमुख कार्यकारी अधिकृत जसोदा सैँजू हुन् । यसका सञ्चालकहरुमा विजयकुमार सरावगी, रमेश कर्मचार्य, पुष्प ज्योति ढुंगाना, दीपककुमार श्रेष्ठ, राजेशकुमार सरावगी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us