वित्तीय जोखिम न्यूनीकरणका लागि पारदर्शी र नतिजामुखी कार्यक्रम आवश्यक

काठमाण्डु टुडे २०७१ जेठ १२ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – सार्वजनिक खर्च व्यवस्थापनलाई प्रभावकारी एवम् नतिजामुखी बनाउन र यससँग सम्बन्धित वित्तीय जोखिमलाई न्यून बनाउन सुधारात्मक कार्यक्रम आवश्यक भएको महालेखा नियन्त्रक कार्यालयले औँल्याएको छ ।

सार्वजनिक खर्च प्रणालीका खातालाई एकीकृत गरी सार्वजनिक लेखामा पारदर्शीता कायम गर्न सुधारात्मक कार्यक्रम सुरु गरिएको महालेखा नियन्त्रक शङ्करप्रसाद अधिकारीले जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजनमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व(पेफा) नेपालद्वारा सोमबार आयोजित कार्यक्रममा उनले व्यवस्थापकीय स्वायत्ततामा हस्तक्षेप, राजनीतिक हस्तक्षेप र श्रमसँग सम्बन्धित विभिन्न निकायका दबावका कारण सार्वजनिक लेखामा असर पर्ने गरेको उल्लेख गर्दै त्यसको सुधार जरुरी भएको बताए ।
महालेखा नियन्त्रक कार्यालय सरकारको लेखा राख्ने काममा मात्र सीमित भएको उल्लेख गर्दै महालेखा नियन्त्रक अधिकारीले सार्वजनिक वित्तीय सुधारतर्फ पनि कार्यालयले कार्यक्रम अघि बढाउने जानकारी दिए ।

कार्यक्रममा पेफा नेपालका सदस्य सचिव बाबुराम सुवेदीले वित्तीय क्षेत्रको निरन्तर सुधार गर्ने र विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने गरी कार्यक्रम ल्याइने जानकारी दिए ।

सहमहालेखा नियन्त्रक डिल्लीराम शर्माले बजेट व्यवस्थापन तथा उत्तरदायित्वको पक्षमा सुधार ल्याएर पूँजीगत खर्चलाई पारदर्शी र नतिजामुखी बनाउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us