लघु जलविद्युत् आयोजनामा लगानी बढ्दै

काठमाण्डु टुडे २०७१ जेठ १२ गते ११:५१ मा प्रकाशित

बनेपा, १२ जेठ – काभ्रेमा निर्माण भएका ३७ वटा लघु जलविद्युत् आयोजनामा झन्डै कुल रु १२ करोड १० लाख चार हजार ७६३ लगानी भएको छ ।

सो लगानीमध्ये वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अनुदानस्वरुप रु छ करोड १९ लाख ७८ हजार ५८३, जिल्ला विकास समितिले प्रदान गरेको रु ४७ लाख ५७ हजार ६४४, विभिन्न गाविसले रु दुई करोड चार लाख ९८ हजार ९४० र स्थानीय श्रमदानबाट रु दुई करोड २८ लाख ६९ हजार ५९६ लगानी भएको जिल्ला विकास समिति काभ्रेको ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।

यी जलविद्युत् आयोजनामध्ये २५ वटा जिल्ला विकास समिति काभ्रेमार्फत र १२ वटा स्थानीय गैरसरकारी संस्था रिमरेकमार्फत निर्माण कार्य सम्पन्न भएको सो शाखाले जनाएको छ ।

ती लघु जलविद्युत् आयोजनाबाट कुल ६९९.६२ किलोवाट जलविद्युत् उत्पादन भएको र त्यसबाट कुल छ हजार ६०२ घरधुरी लाभान्वित भएका छन् ।

काभ्रेको महाभारत डाँडापारी र कोसी नदीपारीका पोखरीचौरी माँझीफेदा, धुसनी शिवालय, बनखु, साल्मेचाकल, घर्तीछाप, बुढाखानी, गोकुले, फलामेटारलगायतका गाविसमा ती लघु जलविद्युत् आयोजनाको निर्माण भएको छ ।

विसं २०५४ देखि २०७० सम्म निर्माण कार्य सम्पन्न भएको लघु जलविद्युत् आयोजनाका कारण विकट ग्रामीण क्षेत्र झिलीमिली भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us