ज्ञानेन्द्रलाई नागार्जुनबाट नारायणहिटी ल्याउने कमल थापाको घोषणा

काठमाण्डु टुडे २०७१ जेठ १० गते १३:४० मा प्रकाशित

काठमाण्डु, १० जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र फर्काएरै छाड्ने जिकिर गरेका छन् ।
Kamal-Thapa-Raprapa-Nepalपार्टीको पहिलो महाधिवेशनको शनिबार राजधानीको खुलामञ्चमा सम्बोधन गर्दै थापाले विधिसम्मत ढंगले राजतन्त्र फर्काउने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जतिसुकै बेला नागार्जुनबाट नारायणहिटी ल्याउन सक्ने उनको भनाइ थियो ।

‘जतिबेला पनि राजालाई नागार्जुनबाट नारायणहिटी ल्याउन सक्छौं’, थापाले भने, ‘तर त्यत्तिकै ल्याउँदैनौ, विधि पुर्‍याएर ल्याउँछौं ।’ थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेण्डा भएको दाबी  गरे ।

एकीमाओवादी, कांग्रेस र एमालेले विदेशीको भरिया भएर ती एजेण्डा बोकेको जिकिर गरे । माओवादी प्रमुख भरिया र काँग्रेस–एमाले सहायक भरिया भएको टिप्पणी उनले गरे ।

आफूहरुको एजेण्डामा जनताको समर्थन रहेको दाबी गर्दै उनले जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि नेपाललाई राजतन्त्रसहितको हिन्दूराज्य बनाएरै छाड्ने अठोट व्यक्त गरे । नेपालमा ८० प्रतिशत सनातन हिन्दू धर्मावलम्बी रहेको भए पनि जवर्जस्ती धर्मनिरपेक्षता लागिएको आरोप लगाए ।

थापाले उनले धर्मनिरपेक्षताविरुद्ध आफूहरु बलिदान दिनसमेत तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us