
वीरगन्ज, १० जेठ– पर्सा प्रहरीले तस्करको सुन लुटेको आरोपमा एक प्रहरी अधिकृतलाई हिरासतमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक जटाशङ्करप्रसाद गुप्तालाई लुटिएको दुई केजी सुनसहित वीरगन्जको रानीघाटबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए ।
प्रहरी सहायक निरीक्षक गुप्ता वीरगन्ज रानीघाटका स्थायीयवासी हुन् । तीन दिन पहिले एक भारतीय तस्करले लिएर जाँदै गरेको दुई केजी अवैध सुन प्रहरी सहायक निरीक्षक गुप्ताले वीरगन्जको मेनरोडमा रहेको टयाम्पु स्टेन्ड नजिकैबाट नियन्त्रणमा लिएर तस्करलाई छाडेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
लुटिएको सुनसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । रासस