राप्रपा नेपालको महाधिवेशन सुरु

काठमाण्डु टुडे २०७१ जेठ १० गते ३:५० मा प्रकाशित

काठमाण्डु, १० जेठ– राप्रपा नेपालको पहिलो महाधिवशेन शनिबारबाट राजधानीमा सुरु भएको छ ।
raprapa nepalकाठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महाधिवशेन उद्घाटन गरे । महाधिवेशन उदघाटन गर्दै अध्यक्ष थापाले आफूहरुको मुख्य उद्देश्य हिन्दू राष्ट्रसहितको राजतन्त्र कायम गर्नु रहेको बताए ।

उनले २०६२/०६३ मा जनआन्दोलनका बेला राजतन्त्र र हिन्दू राष्ट्र अन्त्य गरी गणतन्त्र र धर्मनिरपेक्षता कसैको माग नभए पनि आन्दोलनपछि षड्यन्त्र गरिएको दाबी गरे । उनले विदेशी शक्तिको इशारामा भएका सबै षड्यन्त्रको पर्दा खुल्दै गएको जिकिर गरे ।

कार्यक्रममा सम्मेलन सफलताको शुभकामना दिँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राप्रपा नेपालले संविधान निर्माणमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

एकीकृत माओवादी नेता अग्निप्रसाद सापकोटाले परिर्वतन स्वीकार गर्दै संविधान निर्माणमा ध्यान केन्द्रित गर्न राप्रपा नेपाललाई आग्रह गरे । कार्यक्रममा शुभकामना दिन गएका राप्रपा अध्यक्ष सूर्यबहादुर थापाविरुद्ध राप्रपा नेपालका कार्यकर्ताले हुटिङ गरेका थिए ।

अध्यक्ष थापाले राजतन्त्र इतिहास भइसकेको र अब नफर्कने आशयको अभिव्यक्ति दिएपछि राप्रपा नेपालका कार्यकर्ता आक्रोशित भएका हुन् । उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएका थिए ।

यसैबीच महाधिवेशनअन्तर्गत आइतबारबाट बन्दसत्र सुरु हुने राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् प्रचार प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रज्ञा भवन कमलादीमा हुने बन्दशत्रमा देशभरबाट २ हजार ९ प्रतिनिधि र ६ सय पर्यवेक्षक सहभागी हुने राप्रपा नेपालले बताएको छ ।
चार दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै राजनीतिक प्रतिवेदन पारित गर्नेछ । राप्रपा नेपालको विधानमा १ सय २७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । महाधिवेशनबाट पुन : कमल थापा नै अध्यक्ष हुने पक्का छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us