एमाओवादी पोलिट्ब्युरोको मतगणना जारी

काठमाण्डु टुडे २०७१ जेठ १० गते ११:०१ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– एकीकृत नेकपा माओवादीको नेतृत्व चयनका लागि पहिलो चरणमा पेलिट्ब्युरो सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको निर्वाचन असन्तुष्ट बाबुराम भट्टराई पक्षले भने बहिस्कार गरेको छ ।

maoistसंस्थापन पक्षले विराटनगर राष्ट्रिय सम्मेलनबाट एक पक्षीय रुपमा केन्द्रीय कमिटी चयन गरेको भन्दै भट्टराई पक्ष निर्वाचनमा सहभागी नभएको हो ।  ५१ सदस्यीय पोलिट्ब्युरोका लागि १ सय ५१ सदस्यीय केन्द्रीय समितिका सबै उम्मेदवार र सबै मतदाता थिए ।

निर्वाचन कार्यविधिमा उल्लेख भए अनुसार निर्वाचनका बेला अनुपस्थित रहेका पनि उम्मेदवार हुनेछन् । निर्वाचनमा कूल १ सय १६ मत खसेको छ । भट्टराई पक्षमा २७ जनाले निर्वाचन बहिस्कार गरेको र ८ जना विभिन्न कारणले नेतृत्वलाई जानकारी गराएरै अनुपस्थित रहेको निर्वाचन समिति सदस्य रामनारायण बिडारीले बताए । भट्टराई पक्षका बाहेक शशी श्रेष्ठ, ईश्वरी भट्टराई, चिनक कुर्मी, प्रकाश पोखरेल, केशव ढुंगाना, रामचन्द्र शर्मा र घनश्याम यादव अनुपस्थित रहेका हुन् ।

अहिले पोलिट्ब्युरो निर्वाचनको मतगणना भइरहेको छ । १ सय ५१ जना केन्द्रीय सदस्यबाट छानिका ५१ जना पोलिट्ब्युरो सदस्यले १७ सदस्यीय स्थायी समिति चयन गर्नेछन् ।

बिडारीले समय अभावका कारण पदाधिकारीका लागि सोमबार मात्र निर्वाचन नहुने जानकारी दिए । पदाधिकारीमा अध्यक्षबाहेक दुई उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ । पदाधिकारी चयनका लागि  स्थायी समिति सदस्यले मतदान गर्ने  निर्वाचन कार्यविधिमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us