न्यायाधीशका नैतिक आचरणबारे सभासदका प्रश्न

काठमाण्डु टुडे २०७१ जेठ १० गते ८:५४ मा प्रकाशित

काठमाण्डु, १० जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदद्वारा सर्वोच्च अदालतका लागि सिफारिस थप दुई प्रस्तावित न्यायाधीशको सुनुवाई गरेको छ ।
समितिको सिंहदरबारमा शनिबार बसेको बैठकमा दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायाको सुनुवाई सकिएको हो ।

बैठकमा सभासदहरुले न्यायाधीशहरुका नैतिक आचरण, विगतमा गरेका विवादास्पद फैसला र भ्रष्टाचार गरेकाजस्ता जर्दनौं प्रश्न सोधेका थिए । सभासदहरुले उपाध्ययलाई परिषद सदस्य रहेका सर्वोच्चकै वरिष्ठ न्यायाधीशले सिफारिसमा नोट अफ डिसेन्ट लेखेको भन्दै कसरी न्यायाधीश हुन लायक हुनुहुन्छ ? भन्ने पश्न गरेका थिए । परिषदमा रहेका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले उपाध्यायको नाममा नोटअफ डिसेन्ट लेखेका थिए ।

जवाफमा उनले आफूमाथि पूर्वाग्रही भएर साहले नोट अफ डिसेन्ट लेखेको बताए । तर यो सबै खेलको नियमअनुसार भएको उनको भनाइ थियो । सर्वोच्चका भावी प्रधानन्यायाधीश हुने व्यक्तिले लगाएको त्यस्तो आरोपबाट आफू षतविक्षत भएको टिप्पणी उपाध्यायले गरे । यस्तै अर्का न्यायाधीश जोशीलाई पुनरावेदन अदालतमा हुँदा पियनको समेत तलब लिएको भन्दै त्यसबारे केहो भनी प्रश्न गरेका थिए ।

उनले विगतमा हेरेका सबै अधिकांश मुद्धाका फैसला बदर भएको भन्दै कार्यक्षमतामा समेत प्रश्न उठाएका थिए । जोशीले आफूमाथि लागेका सबै आरोप गलत भएको बताए । आफूले न्यायालयमा छँदा इमान्दारीपूर्वक काम गरेको भन्दै जोशीले तलबबाहेक केही नलिएको जिकिर गरे ।

विगतमा आफु्नो काठमाण्डुका तीन ठाउँमा जग्गा रहेको र अहिले एक ठाउँमा मात्र रहेको भन्दै भ्रष्टाचार गरेको भए किन त्यस्तो हुन्थ्यो भन्ने प्रश्न गरे । जोशीले आफ्ना प्रश्नहरुको छोटो र आलटाले प्रकारले जवाफ दिएको भन्दै सभासदहरुले आपत्ति जनाए ।

उनीहरुले ज्येष्ठ सदस्यका हैसियतमा बैठकको अध्यक्षता गरिरहेका सभासद कुलबहादुर गुरुङको ध्यानाकर्षण समेत गराए । यसैबीच समितिले बाँकी न्यायाधीशको सुनुवाई आइतबार हुने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us