
ललितपुर, ९ जेठ– नेकपा–माओवादीका सचिव नेत्रविक्रम भन्दले नेपाली काँग्रेसले सहमतिका नाममा माओवादी आन्दोलन कमजोर पारेको आरोप लगाएका छन् ।
क्रान्तिकारी ट्रेड युनियनले ललितपुरको कुपण्डोलमा गरेको कार्यक्रममा चन्दले काँग्रेसले सहमतिका नाममा माओवादी आन्दोलन धुजाधुजा पारेको बताए । शान्ति स्थापनाका नाममा माओवादी आन्दोलन सिध्याउने खेल भइरहेको उनको भनाइ छ ।
‘काँग्रेसले माओवादी आन्दोलनलाई काठमाण्डुको गल्लीमा ल्याएर धुजाधुजा पारेको छ’, चन्दले भने, ‘शान्तिका नाममा माओवादी आन्दोलन सिध्याउने खेल भइरहेको छ ।’ सचिव चन्दले काँग्रेस एकलौटी रुपमा संविधान लेख्न उद्धत रहेको भन्दै त्यस्तो संविधानले मुलुकलाई निकास नदिने चन्दले उल्लेख गरे ।
एकलौटी संविधान जारी गरेर शासन चलाउने सपना नदेख्न भन्दै उनले त्यसो भए युृद्धमा जाने चेतावनी दिए । अर्को एक फरक प्रसंगमा उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिलेको बाटो छाड्न आग्रह गरे । एमाओवादीले कमजोरी सच्याए तत्काल दुई पार्टीबीच एकता हुने बताए ।