
काठमाण्डु, ८ जेठ– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्ने कुनै सम्भावना नरहेको बताएका छन् ।
सिंहले नेपालका कम्युनिष्ट पार्टीहरु १० तिर फर्किएकाले एउटै केन्द्र असम्भव रहेको बताए । एकताको आधार विचार, राजनीति, दर्शन र कार्यक्रम रहेको भन्दै उनले हरेक पार्टीको फरक, विचार र कार्यक्रम रहेकाले एकताको कुनै सम्भावना नरहेको बताए ।
उनले मुद्दाहरुमा आधारित भएर कार्यगत एकता भने हुन सक्ने उल्लेख गरे ।’ ‘१० तिर फर्किएर बसेका कम्युनष्टिहरुबीच तत्काल एकता सम्भव छैन’, काठमाण्डु टुडेसँगको विशेष कुराकानीमा सिंहले भने, ‘खासखास मुद्दामा कार्यगत एकता र सहकार्य हुन सक्छ ।’
६ दशक नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिइसकेको भन्दै उनले छरिएर रहेका कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याएर त्यसको नेतृत्व गर्ने महत्वाकांक्षा आफूमा नरहेको प्रष्ट्याए ।
प्रचण्ड र बाबुरामबीच पदको झगडा
सिंहले एकीकृत माओवादीभित्र प्रचण्ड र बाबुराम भट्टराईबीच देखिएको विवादलाई पदीय झगडाको संज्ञा दिए । दुई नेताबीच आधारभूत रुपको सैद्धान्तिक मतभेद नदेखिएकाले सतहमा देखिएको विवाद पदीय झगडाबाहेक केही नभएको उनको भनाइ थियो ।
‘उनीहरु (प्रचण्ड–बाबुराम) को मतभेद पदको भागवण्डामा छ’, सिंहले भने, ‘प्रचण्डले केन्द्रीय समितिमा बाबुराम पक्षकालाई समेट्ने बताएपछि कुरा मिलेको छ ।’ नीति, सिद्धान्त, विचार र कार्यक्रममा समानता भएर पनि बाबुराम पक्षले पदका लागि प्रचण्डसँग बार्गेनिङ गरेको आरोप सिंहले लगाए ।
एमाओवादीको सांगठनिक संरचना र कार्यशैली गैरमाक्र्सवादी प्रणालीमा आधारित भएकाले त्यहाँभित्र तलदेखि माथिसम्म आमअराजकता, विक्रिति र अनुशानहीनता बढेको उनले बताए ।
‘बाबुराम वा प्रचण्डको कुरा होइन, उनीहरुको संगठन प्रणाली नै माक्र्सवादी लेननवादी लिकबाट धेरै पछि हटिसकेको छ’, सिंहले भने, ‘त्यहाँ गम्भीर प्रकारको अविश्वास र विग्रह छ, जुन प्रकारले अन्तरविरोधहरु बाहिर आएका छन् यो माक्र्सवादी, लेनिनवादी अनुशासन पद्धतिसँग मेल खाँदैन ।’
उनले एउटै पार्टीमा रहेका बेला आफूले बाबुरामलाई जिल्ला कमिटीभन्दा माथि ल्याउन नहुने बताएको स्वीकार गरे । ‘बुद्धिजिवी भएका कारणले बाबुरामलाई केन्द्रीय कमिटीमा ल्याउन हुन्न भनेको होइन, हाम्रो पार्टीमा ल्याउनेदेखि पदोन्नति गर्ने बेलामा आफ्नै पद्दति छ, त्यो नमान्ने मान्छे कम्युनिष्ट पार्टीको सदस्य हुन सक्दैन ।’