
काठमाण्डु, ८ जेठ – दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईले बिहीबार नयाँ प्रधानमन्त्रीको नियुक्ति गरेकी छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री पदमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश आन डाई हिलाई नियुक्त गरेकी हुन् ।
गत महिना दक्षिण कोरियामा भएको डुङ्गा दुर्घटनामा सयौँ व्यक्तिले ज्यान गुमाएपछि त्यहाँका तत्कालीन प्रधानमन्त्रीले सो दुर्घटनाको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।
पूर्व प्रधानमन्त्री चुङ्ग होङ्ग वोनको प्रतिस्थापनको रुपमा आन डाई हिलाई नियुक्ति गरिएको बताइएको छ ।
डुङ्गा दुर्घटनाको कारण आफ्नो पदबाट राजीनामा गर्ने उच्च स्तरीय व्यक्तित्वमा चुङ्ग रहेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मिन क्युङ्ग वोओकले एक पत्रकार सम्मेलनमा आनले राष्ट्रपति पार्कको प्रण अनुसारको राष्ट्र सुधार र दक्षिण कोरियालाई पुनर्जीवन दिन आफ्नो कर्तव्य पूरा गर्नुहुने बताएका छन् ।
पार्क प्रशासनले गत अप्रिल १६ मा भएको डुङ्गा दुर्घटनापछि उद्धार कार्यमा ढिलाइ भएको भनि नागरिक समाजको ठूलो आलोचना खेप्नुपरेको छ ।
डुङ्गा दुर्घटनाको आज ३७ औँ दिनमा यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८८ पुगेको छ ।
सो दुर्घटनामा अझै १६ व्यक्ति बेपत्ता रहेका छन् । सो डुङ्गामा एक विद्यालयका ३२५ जना विद्यार्थीसहित ४७६ व्यक्तिले यात्रा गरिरहेका थिए ।
तीमध्ये १७६ जनालाई सोही दिनमा उद्धार गरिएको थियो । तर त्यसपछिका दिन खोजीकार्यको क्रममा कुनै पनि जीवित व्यक्ति भने फेला परेका छैनन् ।
दुर्घटना भएपछि निरन्तर रुपमा उद्धार कार्य जारी राखिएको सरकारले जनाएको छ ।
उद्धारका लागि १३० वटा डुङ्गा र ४० वटा माछा मार्ने डुङ्गालाई अझै परिचालन गरिएको जनाइएको छ । सिन्ह्वा