
काठमाण्डु, ८ जेठ– पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा रु एक हजार १०० देखि रु ५६ हजारसम्मको पूजा ४१ वटा तथा वासुकी मन्दिरमा रु एकहजार १०० दरको आठवटा विशेष पूजा आजदेखि सञ्चालन भएको जनाएको छ ।
गत चैत २६ गतेदेखि विशेष पूजामा दक्षिणा वृद्धिको माग गरी भट्टहरूले विशेष पूजा रोकेका थिए । भट्ट तथा पुजारीले सो पूजा गरेबापत साढे सात प्रतिशत दक्षिणा प्राप्त गर्दै आएकामा १८ प्रतिशत पाउने गरी मङ्गलबार सहमति भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए ।
कोषले निर्धारण गरेको शुल्क तथा मापदण्डका आधारमा विभिन्न व्यक्तिले आफ्नो क्षमताअनुसार विशेष पूजा गराउने चलन छ । कोषले विशेष पूजाका लागि रु एक हजार १०० देखि रु नौ लाखसम्मको शुल्क निर्धारण गरेको छ । पूजाको प्रकृति हेरी भट्ट तथा पुजारीको सहभागितामा विशेष पूजा सञ्चालन गरिन्छ ।
त्यस्तै आजैदेखि वासुकी मन्दिरमा रु २५१ र रु ५०१ को विशेष पूजा शुभारम्भ गरिएको छ । कम शुल्कको पूजामा धेरैले सहभागिता जनाउने सम्भावना रहेको र कोषको आम्दानी वृद्धि हुने सदस्य सचिव डा टण्डनले बताए ।
विशेष पूजा भनेको भक्तजनले विभिन्न अवसरमा सङ्कल्पसहित गरिने पूजा हो । यसमा शिवलिङ्गमा पञ्चामृत स्नान तथा रुद्रीपाठ गराउने गरिन्छ । भित्री गर्भगृहको अलिक बाहिरसम्म मात्र भक्तजन जान पाउँछन् । एक दिनदेखि एक महिनासम्मको पनि विशेष पूजा हुने गर्छ । विसं २०२२ देखि पशुपतिमा यस्तो किसिमको पूजा गर्न सुरु गरिएको हो । विशेष पूजा सञ्चालन गरेबापत कोषलाई वार्षिक रु पाँच करोड आम्दानी हुने गरेको छ । मूल भट्टको मासिक तलब रु दुई लाख २० हजार र भट्टको रु एक लाख ७० हजार हुने गरेको जनाइएको छ ।