वामदेवका अर्का नक्कली ‘पीए’ समातिए

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ९:०८ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – गृहमन्त्री वामदेव गौतमका निजी सहयोगी बताउने एक युवक बुधबार राति काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलका होटलहरुमा आफूलाई गृहमन्त्री गौतमको पीए बताउँदै ती व्यक्तिले पैसा असुलेको प्रहरीको आरोप छ ।

बर्दियाको सोराहा गाविस वडा नं २ निवासी टीकाराम घिमिरे नाम गरेका ती व्यक्तिलाई सोह्रखुट्टेस्थित प्रहरी हिरासतमा राखिएको छ ।

गस्तीमा खटिएको प्रहरीले शंका लागेर सोधपुछ गर्दा उनले आफू गृहमन्त्रीको पीए भएकाले प्रहरी हवल्दारले चिनिरहन जरुरी नभएको बताएका थिए ।

प्रहरीले उनलाई बुधबार राति साढे ८ बजे ठमेलबाट गिरफ्तार गरेको हो । प्रहरीले पक्रन लागेपछि आफू वामदेव गौतमको बर्दियास्थित गाविसको पीए भएको बताएका थिए ।

यसअघि ललितपुरको इमाडोल गाविसबाट वामदेवमा अर्का नक्कली पीए समातिएका थिए ।

आफूलाई वामदेवको निजी सचिव विजयविराज विष्ट बताउँदै गाविसमा नागरिकताको प्रतिलिपी बनाउन पुगेका स्थानीय विजय विष्टलाई सातदोबाटो प्रहरीले गिरफ्तार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us