
काठमाण्डु, ८ जेठ – नेपाल आयल निगमले राजधानी लगायत मुलुकका केही शहरमा देखिएको इन्धन अभाव विहिवारबाट सहज हुने जनाएको छ ।
भारतमा लोकसभा चुनावका कारण रक्सौलमा तेल अभाव हुदा त्यसको असर नेपालमा देखिए पनि बिहिबारबाट इन्धन सहज हुने निगमको भनाइ छ ।
थानकोट डिपोबाट आज ४ लाख किलोलिटर तेल वितरण भएकाले आजबाट तेल सहज हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले दावी गरे । भारतीय लोकसभा निर्वाचनका कारण रक्सौलमा तेल अभाव भएपनि अहिले रक्सौलमा तेल आएको र त्यहांबाट प्रयाप्त तेल नेपाल भित्रिएको घिमिरेले जानकारी दिए ।
यसैबीच, पछिल्लो सयम नेपाली रूपैयाँ पछिल्लो १४ महिना यताकै बलियो भएपछि निगमको घाटा कम भएको छ । पछिल्लो समय डलरको सटही दर ९४ रूपैयाँमा झरेसंगै निगमको मासिक घाटामा पनि कमी आएको हो ।
इन्डियन आयल निगमले पठाएको नयां मूल्य अनुसार आयल निगमको मासिक घाटा दुई सातामा ६९ करोडबाट घटेर ४७ करोडमा झरेको छ । दुई महिना अघिसम्म निगमको मासिक घाटा डेढ अर्बभन्दा माथि थियो ।
इन्डियन आयल निगमले मे १ मा मूल्य सूची पठाउँदा एक डलरको सटही दर झण्डै ९७ रुपैयां थियो भने अहिलेको नयाँ मूल्य पठाउँदा डलरको सटहीदर ९४ रुपैंयाको हाराहारीमा छ । नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोल र मट्टीतेलमा नाफा बढेको छ भने डिजेलको घाटा कम भएको छ ।
निगमलाई हाल पेट्रोलमा प्रतिलिटर दश रुपैयाँ ३३ पैसा नाफा रहेको छ भने मट्टितेलमा १२ रुपैयां २७ पैसा नाफा रहेको छ ।
यस्तै, आन्तरिक हवाई इन्धनमा ३७ रुपैयां र अन्तराष्ट्रिय हवाई इन्धनमा ४५ रुपैयाँ नाफा छ भने डिजलमा ३ रूपैयाँ ४० पैसा र एलपी ग्यांसमा प्रतिसिलिण्डर ५ सय ८९ रूपैयाँ १४ पैसा घाटा रहेको छ ।