प्रेस युनियनमा चुनावी रन्को, उम्मेदवारलाई टिका प्रथाको डर

काठमाण्डु टुडे २०७१ जेठ ८ गते ४:२९ मा प्रकाशित

Nepal Press unionकाठमाण्डु, ८ जेठ – नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनलाई चुनावी रन्को लागेको छ । असार १ र २ गते पोखरामा हुने महाधिवेशनबाट नेतृत्व लिनका लागि आंकाक्षीले प्रचार अभियान तिव्र पारेका छन् ।

केन्द्रीय नेतृत्वका लागि ठूलै प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा वर्तमान महासचिव तथा संगठन बिभाग प्रमुख शिव लम्सालको दावेदारी छ ।

लम्सालसंगै अध्यक्षमा दावी गर्नेहरुमा दामोदर दवाडी, बद्री सिग्देल, गंगाधर पराजूली, रामप्रसाद दाहाल र भुवन भट्टको नाम चर्चामा छ । यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, बिजय सन्तोषी राईको चर्चा छ ।

यस पटकको महाधिवेशनमा सवै भन्दा धेरै प्रतिस्पर्धा महासचिवमा हुने देखिएको छ । महासचिव पदमा होम लम्साल, अजयबावु सिवाकोटी, सरोज अधिकारी, लिलाराज खनाल, सलोजा दाहाल, इश्वरी ओझा प्रतिस्पर्धामा उत्रिने छन् ।

सचिवमा सूर्यकुमार क्षेत्री, पवन आचार्य, खिला कार्की, प्रेम केसीको नाम चर्चामा छ । सचिवका आंकाक्षी मध्ये सूर्यकुमार क्षेत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार तिव्र पारिसकेका छन् ।

उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री गीतकार समेत भएको जनाउ दिएका छन् । उनले गएको संविधानसभाका लागि माउ पार्टी कांग्रेसको प्रचार गीत , नेविसंघको चुनवाी गीत र गिरिजाप्रसाद कोइरालाको निधनमा समेत गीत लेखेको बताए ।

कोषाध्यक्षमा भने छायाँचन्द्र भण्डारी भिड्ने भएका छन् । चुनावी अभियानको तिव्रतासँगै महाधिवेशनमा फेरी टिकाटालो हुने संभावना पनि उत्तिकै देखिएको छ । इटहरी महाधिवेशनमा यस्तै आंकाक्षी धेरै भएका कारण सहमतिमा पद बाँडफाँड गरी नेतृत्व चयन भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us