अबदेखि प्रहरीले मुसुक्क हाँसेर सेवा दिने

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– प्रहरीले देशभर एकैसाथ मुस्कानसहितको प्रहरी सेवा कार्यक्रम सुरु गरेको छ ।
police_logoकार्यक्रमको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल पुलिस क्लब भृकुटीमण्डमा आयोजित एक कार्यक्रमबीच बुधबार उद्घाटन गरे । रुखो बोली र व्यवहारका कारण प्रहरी जनताबाट टाढिएको जनगुनासो आएपछि प्रधान कार्यालयले मुस्कानसहितको प्रहरी सेवा थालेको हो ।

प्रहरी प्रवक्ता एसएसपी गशेण केसीले सेवामा चुस्तता र नागरिकमैत्री प्रहरी संगठन निर्माणका लागि यस्तो अभियान थालिएको बताए । उनले मुस्कानसहितको प्रहरी सेवा कार्यान्वयनमा ल्याउन अनुशिक्षण तालिमका लागि मुलुकका विभिन्न स्थनमा ५६ निरीक्षक र सहायक निरीक्षकलाई खटाइएको जानकारी दिए ।

कार्यक्रममा मन्त्री गौतमले नेपाल प्रहरीमा उपल्लो र तल्लो तहका कर्मचारीबीचको सम्बन्ध मानवीय हुनुपर्ने र संगठनभित्रका कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न दिर्नेशन दिए ।

नागरिक अपेक्षित आचरण र व्यवहार प्रस्तुत गर्न प्रहरी कर्मचारीले स्वयम् आफूभित्रको आचरण  व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मुस्कानसहितको प्रहरी सेवाको अवधारणालाई अझै बढी परिष्कृत रुपमा देशभर लागू गर्ने कार्यायोजना रहेको बताएको हो ।

‘मुस्कानसहितको प्रहरी सेवा एउटा बिम्ब हो, यसको शाब्दिक भन्दा पनि प्रतिकात्मक अर्थ गहन छ’, उनले भने, ‘ओठमा हाँसो बोकेर मात्र होइन, हृदयदेखि नै सेवाभावका साथ हामीले आमनागरिकप्रति गर्ने व्यवहार नै सभ्य, शिष्ट र स्वागतयोग्य हुनुपर्छ ।’

तालिका क्रममा मुस्कानसहितको प्रहरी सेवाको अवधारणा र आवश्यकता, प्रहरीको व्यक्तित्व र शिष्ट व्यवहार, अन्तरवैयिक्तक सम्बन्ध र संचार सीप, कार्यमैत्री वातावरण, मुस्कानसहितको प्रहरी सेवामा मानवअधिकार, प्रहरी सेवा झल्किने मुख्य स्थान र अवस्थाहरु तथा तनाव व्यवस्थापन जस्ता विषयहरुमा तालिम लिइने प्रवक्ता केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us