
काठमाण्डु, ७ जेठ– पूर्वभारतीय, बेलायती, सिंगापुर तथा नेपालकापूर्व सेना र प्रहरीहरुको साझा संगठन पूर्वसैनिक कल्याणकारी महासंघले संविधानसभामा परिषदबाट मनोनित हुने २६ मध्ये ४ सभासद आफूहरुबाट मनोनित गर्नुपर्ने माग अघि सारेको छ ।
बुधवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर महासंघले २५ लाख सदस्य रहेको महासंघ राजनीतिक रुपमा तटस्थ रहँदै पूर्वसैनिक र देशको हितमा समर्पित भएकाले संविधान निर्माणमा आफूहरुको पनि भूमिका हुनुपर्ने ठहर सहित ४ सभासद माग गरेको हो ।
महासंघले ४ सभासदका अतिरिक्त पूर्वसैनिकहरुको ईतिहास र परिचलाई नयाँ संविधानमा उल्लेख गर्नुपर्ने, पूर्वसैनिकहरुलाई विशेष सेवामा आरक्षणको व्यवस्था गर्नुपर्ने, विशिष्ट नागरिकको रुपमा सम्मान गर्नुपर्ने, बुटवलमा पेन्सन क्याम्प स्थापना गर्नुपर्ने, भारतीय पूर्वसैनिकका विधवालाई पारिवारिक पेन्सनका लागि कुटनीकि पहल गर्नुपर्ने र प्रत्येक २४ अप्रिललाई पूर्वसैनिक दिवसका रुपमा मान्यता दिनु पर्ने लगायतका ६ बुँदे माग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापाले आफूहरुका मागको विषयमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, भारतीय राजदूत रञ्जित रे सहितका सरोकारवालालाई ज्ञापनपत्र मार्फत जानकारी गरिसकेको उल्लेख गर्दै मागलाई बेवास्ता गरेर कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।
उनले आफूहरुको पहिलो माग २६ जनाको मनोनयन गर्दा ४ जना आफूहरुबाट मनोनित गर्नु पर्नेलाई प्राथमिकतमा राख्दै आफूहरुको मागलाई बेवास्ता गरिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । महासंघका सल्लाहकार कर्णेल धनबहादुर मास्की रानाले तत्काल सरोकारवालाहरुले आफूहरुको माग पुरा नगरे आन्दोलनमा जाने बताए ।