सेनाले दियो माइन जोखिम शिक्षा

काठमाण्डु टुडे २०७१ जेठ ७ गते ७:२३ मा प्रकाशित

म्याग्दी, ७ जेठ – इन्द्रबक्स गण अर्थुङ्गेले एक हजार ५०० विद्यार्थीलाई विस्फोटक पदार्थ बम (माइन) को जोखिमसम्बन्धी शिक्षा प्रदान गरेको छ ।

विद्यार्थीमार्फत अभिभावकसम्म बमको जोखिम र त्यसबाट बच्ने उपायका विषयमा जिल्लाका पाँच विद्यालयका विद्यार्थीलाई गणले शिक्षा प्रदान गरेको हो ।

गणका सहसेनानी मनोरथ गौतमले अर्थुङ्गेस्थित प्रकाश उमावि बेनी, बेनी सामुदायिक उमावि बेनी, जामुनाखर्क उमावि अर्थुङ्गे, मङ्गला उमावि बाबियाचौर र नारच्याङ निमावि नारच्याङमा कार्यक्रम गरिएको जानकारी दिए । उहाँका अनुसार, यी विद्यालयमध्ये सबैभन्दा बढी मङ्गला उमाविमा ५०० विद्यार्थी सहभागी थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई उक्त शिक्षा दिइएको सेनाले जनाएको छ । द्वन्द्वकालका घटनाहरु अझै बाँकी रहेको समयमा सेनाले विद्यार्थीलाई लक्षित गरेर गरेको कार्यक्रम सान्दर्भिक भएको प्रकाश उमाविका शिक्षक हरिकृष्ण सुवेदीले बताए । नेपाली सेनाले विद्यार्थीलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै अभिभावकलाई पनि त्यससम्बन्धी विभिन्न कार्यक्रममार्फत सचेत बनाउन थालेको छ ।

सुख्खायाममा वनजङ्गलमा आगलागीका घटना बढ्न थालेपछि गणले विभिन्न स्थानमा अग्नि नियन्त्रण रेखा निर्माणलाई पनि तीव्रता दिइरहेको छ । गणपति मनोजकुमार सिलवालले जोखिमयुक्त क्षेत्रका विद्यार्थीलाई त्यस्ता किसिमका शिक्षा दिइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us