
काठमाण्डु, ७ जेठ– लामो विवाद र रस्साकस्सीपछि अन्तत: संसदीय सुनुवाई विशेष समितिले न्यायापरिषदले सिफारिस गरेका सर्वोच्च अदालतका ८ प्रस्तावित न्यायाधीशलाई बोलाउने भएको छ ।
समितिको सिंहदरबारमा बुधबार बसेको बैठकले प्रस्तावित ८ न्यायाधीशलाई आगामी ९ जेठमा सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । अधिकांश भ्रष्ट र विवादित छविकालाई न्यायाधीश सिफारिस गरिएकाले परिषदमै फिर्ता पठाउनुपर्ने विषयमा दलहरुबीच विवाद भएको थियो ।
विवादका कारण भएको ढिलाइले संसदीय सुनुवाईको समय आगामी साता सकिंदैछ । बैठकले न्यायाधीश सिफारिसका आधार, योग्यता र समावेशी नहुनुको कारणबारे यथाशीघ्र जानकारी गराउन परिषदलाई भनेको छ ।
परिषदले विशेष समितिलाई पठाएको पत्रमा उल्लेखित कतिपय भाषा, अभिव्यक्ति र शब्दावलीबाट व्यवस्थापिका संसदको गरिमामा आँच पुर्याउन खोजिएको भन्दै समितिले आपत्ति प्रकट गरेको छ ।
यस्तै समितिले जननिर्वाचित संस्थाको मर्यादा तथा उत्तरदायित्वको मान्यताको सबैबाट कदर हुनुपर्ने स्मरण समेत गराएको छ । समितिले प्रस्तावित न्यायाधीशरुविरुद्ध परेका उजुरीबारे आजै अपराह्न ४ बजे उजुरीकर्तासँग छलफल गर्ने भएको छ ।