दिलशोभामाथि लागेको ‘यौन दुराचार’ को आरोप गलत

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ६:२० मा प्रकाशित

काठमाण्डु, ६ जेठ– आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचार को आरोप झुटो सावित भएको छ ।

dil shobhaप्रहरी अनुसन्धानले उनीमाथिको आरोप गलत सावित गरेको हो । नागरिक दैनिकले दिलशोभाको आश्रममा यौन शोषण हुने गरेको समाचार प्रकाशित गरेपछि प्रहरीले केही महिनाअघि आमा घरमा छापा मारेको थियो ।

नागरिकले आफ्नो समाचार गलत भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ । दिलशोभाको टेलिफोन रेकर्ड भनी उजुरीसाथ संलग्न एकतर्फी फोनसंवाद यौन दुराचारसँग सम्बन्धित नदेखिएको भन्दै प्रहरीले त्यही आधारमा उजुरीमा रहेको उक्त आरोप पुष्टि नहुने निष्कर्ष निकालेको हो ।

श्रेष्ठद्वारा सञ्चालित आमाघरबारे जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दुई महिना अनुसन्धान गरी प्रतिवेदन तयार पारेको हो ।

आमाघरमा रहेका बालबालिका जोखिममा रहेको भन्दै २०७० फागुन १४ गते काठमाण्डु प्रशासनले बालबालिकाको उद्धार गरेको थियो ।

यसरी माग्यो नागरिकले माफी

nagarikनागरिक दैनिकले वर्ष ५ अंक ३०१ मा समाजसेवी दिलशोभा श्रेष्ठमाथि परेको उजुरी र त्यसमा लगाइएको आरोपसम्बन्धी समाचार बिनापूर्वाग्रह प्रकाशित गरेको थियो । त्यसमा उनीमाथि नागरिक आफैंले कुनै आरोप नलगाएको भए पनि थुप्रै पाठक, शुभचिन्तक र समीक्षकबाट उक्त समाचारको शीर्षक मर्यादित नभएको र समाजसेवामा समपिर्त एक महिलामाथि अन्य निकायले लगाएको आरोपलाई प्रथम पृष्ठमा त्यत्रो महत्त्वसाथ प्रकाशित गरिनु गैरजिम्मेवारपूर्ण देखिएको भन्ने प्रतिक्रिया र आशय प्रकट गरिए ।

नागरिक दैनिकले प्रकाशित गर्ने कुनै पनि समाचारले कुनै पनि रुपमा आफ्नो व्यावसायिक मर्यादा नाघ्न नहुनेमा हामी सधैं सचेत र सावधान छौं । तथापि आफ्नो व्यावसायिक धर्म पालना क्रममा श्रैष्माथिको उजरीसम्बन्धी समाचार पाठकलाई अरुचिकर लागेको हामीले त्यतिबेलै महसुस गरेका हौं ।

तर केन्द्रीय बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय र प्रहरीले अनुसन्धान सुरु गरेको विषयमा अनुसन्धान टुंगो नलागुन्जेल थप प्रस्टीकरण दिन हतार गरेनौं । प्रहरीको अनुसन्धान प्रतिवेदनले दिलशोभा श्रेष्ठमाथि लागेका कतिपय आरोप पुष्टि गरे पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको औंल्याएको छ ।

नागरिकमा प्रकाशित समाचारबाट उनको मर्यादामा पर्न गएको चोटका लागि हामी जिम्मेवारी महसुस गर्छौं, र यसका लागि क्षमाप्रार्थी छौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us