
काठमाण्डु, ६ जेठ– काँग्रेसनिकट नेविसंघ र एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेका छन् ।
काठमाण्डुको शंकरदेव क्याम्पसमा मंगलबार भएको संयुक्त कार्यक्रममा नेविसंघ र अखिलका नेताले स्ववियु निर्वाचन तोकिएको मितिमा गराउन त्रिवि प्रशासनसमक्ष माग गरेका हुन् । नेविसंघ अध्यक्ष रञ्जित कर्णले निर्वाचन विरोधी संगठनको धम्कीबाट आफूहरु नडराउने बताए ।
‘हतियार छाडिसकेकाहरुले हतियारको दम्भ नदेखाए हुन्छ’, एकीकृत माओवादी र नेकपा–माओवादी सम्वद्ध अखिल क्रान्तिकारीतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईंको हतियारको धम्कीले अब विद्यार्थी डराउनेवाला छैनन् ।’ आफूहरुसँग छलफल नै नगरी निर्वाचन मिति तोकिएको भन्दै ती दुई संगठनले निर्वाचन बहिस्कार गर्ने बताउँदै आएका छन् । कर्णले निर्वाचनविरोधीलाई तह लगाएर कानुनी शासनको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे ।
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम विद्यार्थी आन्दोलन र लोकतन्त्रको रक्षाका लागि स्ववियु निर्वाचन सम्पन्न गराएरै छाड्ने दाबी गरे । आफ्नो संगठन र नेविसंघ प्रतिस्पर्धी संगठन भए पनि मिलेर निार्वचन सफल पार्न लागेको उनको भनाय थियो ।
अखिल छैठौंका अध्यक्ष अनिककिशोर घिमिरेले चुनाव भाँड्न खोज्नेहरु विद्यार्थी आन्दोलनका सारथी बन्न नसक्ने बताए । त्रिभुवन विश्वविद्यालयले जेठ १८ गतेका लागि स्ववियु निर्वाचन मिति घोषणा गरेको भए पनि दुवै अखिल क्रान्तिकारीसहित १८ विद्यार्थी संगठनले निर्वाचन बहिस्कार गर्ने बताएका छन् ।