खाली झोला र कलम बोकेर विद्यालय जान्छन् विद्यार्थी

काठमाण्डु टुडे २०७१ जेठ ६ गते ४:०७ मा प्रकाशित

सप्तरी, ६ जेठ– नयाँ शैक्षिकसत्र सुरु भएको एक महिना बितिसक्दा समेत कक्षा ९ र १० मा पढ्ने सप्तरीका अधिकांश विद्यार्थीले पाठयपुस्तक पाएका छैनन् ।
समयमै पाठयपुस्तक नपाउँदा सबैभन्दा बढी यसै वर्ष एसएलसी परीक्षा दिने विद्यार्थी मर्कामा परेका छन् ।

कक्षा ९ र १० को पाठ्यपुस्तक पाउेन आशामा जिल्लाभरका विद्यार्थी र शिक्षक सदरमुकाम धाइरहेका छन् । तर पुस्तक नपाएपछि निराश भएर घर फर्किने गरेका छन् ।

जिल्लाको बोदे बर्साइनस्थित चन्द्रा उच्चमाविका विद्यार्थी मञ्जित यादवले दैनिक २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम धाउँदासमेत पुस्तक पाउन नसकेको दुखेसो गरे ।

मानराजास्थित महेन्द्र चुनी माविका प्रधानाध्यापक रामाकान्त यादवले पाठयपुस्तकको अभावमा विद्यार्थीहरु खाली झोला र कलम लिएर विद्यालय आउने गरेको बताए ।
सरकारले यसपालि सप्तरीका लागि जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्रबाट पाठयपुस्तक वितरणको व्यवस्था मिलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us