
खोटाङ, ६ जेठ– जिल्ला प्रहरी कार्यालय खोटाङले सवारी दुर्घटना न्यूनीकरण गर्न जाँचमा कडाइ गरेको छ ।
सदरमुकाम दिक्तेल आसपास क्षेत्रमा मादकपदार्थ सेवन गरेर र बिनाअनुमतिपत्र सवारीसाधन चलाउनेको सङ्ख्या बढेपछि सम्भावित दुर्घटना नियन्त्रण गर्न जाँचमा कडाइ गरिएको प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए ।
प्रहरीका अनुसार दैनिकजसो साँझ जिल्लाका विभिन्न ठाउँमा चेक पोस्ट खडा गरेर जाँच गर्ने गरिएको छ । ट्राफिक प्रहरीको सहयोगमा सदरमुकाम दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक र हाटडाँडामा चेकपोस्ट खडा गरिएको छ ।
तराईसँग सिधा बाटो जोडिएसँगै जिल्लामा झण्डै एक हजारको हाराहारीमा मोटरसाइकल सञ्चालनमा रहेका छन् । तीमध्ये कतिपयले बिनाअनुमतिपत्र चलाउने गरेका छन् ।