न्यायपरिषदको पत्रप्रति संसदीय समितिको आपत्ति

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदले पठाएको पत्रको भाषा र जवाफप्रति आपत्ति जनाउँदै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

caसिहंदरबारमा सोमबार बसेको समिति बैठकले समितिमा नआउने न्यायपरिषदको जवाफप्रति खेद समेत व्यक्त गरेको छ । बैठकमा सभासदहरुले परिषदले पठाएको जवाफी पत्रको भाषा संसदीय मान्यताविपरीत रहेको र समितिलाई हेपेको भन्दै आक्रोश व्यक्त गरे ।

न्यायपरिषदको पत्रमा उल्लेखित भाषाले सार्वभौम संसदको अपमान गरेको निष्कर्षसहित त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको एमाले सभासद रवीन्द्र अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए । उनले सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा ८ जनालाई गरिएको सिफारिसको आधार र कारण माग गर्दै अर्को पत्र पठाउने निर्णय भएको बताए । समितिले
न्यायाधीश सिफारिस भएकाहरुविरुद्ध उजुरी दिनेसँग समेत छलफल गर्ने निर्णय गरेको छ । जवाफका लागि बैठकमा आउन नमानेपछि समितिले पत्रमार्फत नै जवाफ माग्ने निर्णय गरेको हो ।

परिषदको सिफारिसको बचाउ गर्दै आएका काँग्रेस सभासदहरुले पनि सोमबारको बैठकमा परिषदले पठाएको पत्रको भाषाप्रति आपत्ति जनाए । बैठकमा काँग्रेस सभाससद बालकृष्ण खाँडले परिषदको पत्र र भाषालाई हतास मनस्थितिकमा चालिएको कदमको संज्ञा दिए । समितिको बैठक मंगलबार बिहान ८ बजे पुन: बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us