एमाओवादीमा केन्द्रीय समिति ठूलो नबनाउन दबाब

काठमाण्डु टुडे २०७१ जेठ ५ गते १४:५० मा प्रकाशित

काठमाण्डु, ५ जेठ–  एकीकृत माओवादीका केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति दुई अङ्कभन्दा बढीको नबनाउन नेतृत्वलाई दबाब दिएका छन् ।
maoist-officeपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले विगतमा पार्टी संगठन भद्दा भएका कारण कामकारबाही प्रभावित भएको भन्दै चुस्त कमिटी बनाउन सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य हितबहादुर तामाङले तत्कालका लागि केन्द्रीय समिति एक सयको हाराहारीमा सीमित गर्नुपर्ने आवाज उठेको जानकारी काठमाण्डु टुडेलाई दिए । विराटनगर राष्ट्रिय सम्मेलनले १ सय ५१ सदस्यीय कमिटी बनाउने म्याण्डेट दिएको भए पनि त्यतिबेला ९९ जनाको नाम प्रस्ताव गरिएको थियो ।

आफूहरुलाई सम्मानजनक स्थान नदिइएको भन्दै नेता बाबुराम भट्टराईसहित उनी पक्षधर १५ जनाले बस्न अस्वीकार गरेपछि राष्ट्रिय सम्मेलनले ८४ जनाको नाम अनुमोदन गरेको थियो ।

भट्टराईले आफूलाई वरिष्ठ नेता, टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेतासहित सम्मनजनक स्थान दिए केन्द्रीय समितिमा फर्कने बताएपछि सो पक्षलाई समेट्न केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा राखेका थिए ।

‘संगठनात्मक विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भयो’, तामाङले भने, ‘एक सय दुई/तीन जनाभन्दा बढीको केन्द्रीय समिति नबनाउन धेरैको सुझाव छ ।’ बैठकमा अध्यक्ष प्रचण्डले पाँच वा ११ जनाको पदाधिकारी, केन्द्रीय समितिको एक तिहाई पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाई स्थायी समिति बनाउने प्रस्ताव गरेका छन् ।

तर अधिकांश सदस्यले तत्कालका लागि पाँच सदस्यीय पदाधिकारी, एक सय सदस्यीय केन्द्रीय समिति र केन्द्रीय समितिको एक तिहाई पोलिट्ब्युरो बनाउन सुझाव दिएको तामाङले बताए । पाँच जनाको पदाधिकारी रहने अवस्थामा प्रचण्डसहित नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महराको नाम प्रस्ताव गरिएको छ । तर प्रस्तावमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेतामा भट्टराई बाहेक अन्यको पदीय हैसियत स्पष्ट नआएको उनले जनाए । उनका अनुसार श्रेष्ठको उपाध्यक्षमा पक्का छ ।

बोगटी महासचिव भए महरालाई सचिव र उपाध्यक्ष भए महरालाई महासचिव बनाउने गरी छलफल भइरहेको उनको भनाइ छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता दीनानाथ शर्माले संगठनात्मक विषयमा छलफल भए पनि ठोस निर्णय नभएको बताए । मंगलबार बिहान पदाधिकारी बैठक बसेर त्यसबारे निर्णय गर्ने जानकारी उनले दिए । बैठकअघि सोमबार बिहान अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् ।

भट्टराई आफू वरिष्ठ नेता, टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता र केन्दीय समितिमा सम्मानजनक स्थान दिए केन्द्रीय समितिमा फर्कन तयार भएका थिए । बैठकमा सहमतिबारे अध्यक्ष प्रचण्डले सदस्यहरुलाई जानकारी गराएका थिए ।

बैठक मंगलबार दिउँसो पुन: बस्ने गरी स्थगित भएको छ  । सोमबारको बैठकमा नेताहरु नारायणकाजी, वर्षमान पुन, अग्नि सापकोटा, लीलामणि पोखरेल, जनार्दन शर्मा, लोकेन्द्र विष्ट, राम कार्की, हितबहादुर तामाङ, जोखबहादुर महरा, गणेशमान पुन, केशव नेपाल, गंगा कार्की, शालीकराम जमकट्टेल, हक्कीकुल्लाह खाँ, कृष्णप्रसाद सापकोटा, कमला रोका र शशी श्रेष्ठसहित डेढ दर्जनले बोलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us