सिडियस एन्ड क्लिएरिङलाई लत्याउदै सूचीकृत कम्पनी

काठमाण्डु टुडे २०७१ जेठ १ गते ११:१२ मा प्रकाशित

काठमाडौँ, १ जेठ – नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत कम्पनीले केन्द्रीय निक्षेप प्रणाली तथा राफसाफ कम्पनीमा (सिडियस एन्ड क्लिएरिङ लि) आबद्ध भएर धितोपत्रको विद्युतीय कारोबार गर्न अटेर गरेको पाइएको छ ।

cdsधितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियमअनुसार सूचीकृत सङ्गठित संस्थाले केन्द्रीय निक्षेप कम्पनीले आफ्नो सेवा सञ्चालनमा ल्याएको एक वर्षभित्र सिडियसमा धितोपत्र निक्षेप गराई सक्नुपर्ने छ ।

कम्पनीले विसं २०६९ साउन १ गतेदेखि विद्युतीय खाता (डिम्याट एकान्ट) र सोही वर्षको कात्तिक १ गतेदेखि राफसाफ (क्लिएरिङ) सेवा सञ्चालनमा ल्याइसकेको छ । लगभग दुई वर्ष वितिसक्दा पनि नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरू सिडिएसमा आबद्ध भएका छैनन् ।

हालसम्म नेप्सेमा सूचीकृत २३७ वटा कम्पनीमध्ये २७ वटाले आबद्धताका लागि आवेदन दिएका छन् भने १६ कम्पनीले दर्ता सम्झौता गरेका छन् ।

नियमअनुसार ‘केन्द्रीय निक्षेप कम्पनीको प्रारम्भ भएको छ महिना पश्चात् विद्युतीय खातामा निक्षेप भएका धितोपत्र मात्र कारोबार हुनेछ’ भन्ने व्यवस्था रहेकाले सम्पूर्ण सूचीकृत सङ्गठित संस्थाहरू तथा लगानीकर्ताले आफ्ना धितोपत्र निक्षेप गराएर कारोबार गराउनु पर्नेछ ।

विसं २०७० वैशाख २ गतेबाट सम्पूर्ण धितोपत्रको क्लिएरिङ सुरु गरिसकेपछि सिडियसले उपलब्ध गराउने सम्पूर्ण सेवा तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ ।

धितोपत्रको अभौतीकीकरण (विद्युतीकरण) तथा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट सेवा उपलब्ध गराउने उद्देश्यले नेप्सेको पूर्ण स्वामित्वमा उक्त कम्पनी स्थापना भएको हो ।

कम्पनीमार्फत पुँजी बजारलाई पारदर्शी तथा धितोपत्रको सहज कारोबार हुने विश्वास लिइएको छ । सिडिएसको विनियमावलीमा उल्लेख भएअनुसार सेवा शुल्क बुझाउनुपर्ने भएकाले चालु आव सकिनै लागेकाले पनि ती कम्पनी सिडियसमा आबद्ध ढिलाइ गरेको बुझिएको छ ।

सिडिएसमा आबद्ध हुनका लागि दर्ता गर्दा सेयर चुक्ता पुँजीका आधारमा दर्ता शुल्क र वार्षिक शुल्क लाग्ने गर्छ । त्यसैगरी डिवेन्चर÷एकाङ्क, अग्राधिकार सेयर बचत वा समूहगत बचत दर्ता तथा वार्षिक शुल्क र नेप्सेमा सूचीकृत भएका अन्य कम्पनीलाई दर्ता तथा वार्षिक शुल्क लाग्ने गर्छ ।

त्यसो त एकै व्यक्तिले आफ्ना परिवारका र अन्य आफन्तको नागरिकता प्रयोग गरेर सेयर कारोबार हुने गरेको विद्यमान अवस्थामा त्यस्ता अपारदर्शी कार्र्य रोकिने भएकाले विद्युतीय कारोबारमा जानका लगानीकर्ताले अटेर गरेको हुन सक्ने अनुमान छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले भने , “नेप्सेमा सूचीकृत सबै कम्पनी र लगानीकर्ता अनिवार्य रूपमा सिडिएसमा आउनैपर्छ ।” तर कम्पनीले पटकपटक सार्वजनिक सूचनामार्फत सिडिएसमा सहभागी हुन आह्वान गरे पनि अधिकांश कम्पनी आएका छैनन् ।

नियमनकारी निकाय धितोपत्र बोर्डले सिडिएस पूर्ण सञ्चालनमा आएको अवस्थामा आगामी आर्थिक वर्षमा नेप्सेमा सूचीकृत सबै कम्पनीलाई सिडिएसमा आबद्ध हुन आह्वान गर्दै पत्र पठाउने र सिडिएसलाई उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिने तयारी गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीले सूचीकृत कम्पनी तथा सेयर लगानी कर्तालाई सिडिएसको सेवा उत्कृष्ट दिने विश्वास दिलाउन निर्देशन दिएको जानकारी दिँदै आउँदो आर्थिक वर्षमा पूर्ण रूपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

त्यस्तै तीन महिनाको समयसीमा दिएर सिडिएसमा आउन आह्वान गरिएको उल्लेख गर्दै आउँदा दिनमा धितोपत्र बोर्ड र नेप्सेसँग सहकार्य गरेर अगाडि बढ्ने सिडियसका कार्यकारी अधिकृत सिग्देलले बताए ।
शिखर इन्स्योरेन्स कम्पनीका वित्तिय प्रमुख निलेसरत्न तुलाधारले सिडिएसमा आबद्ध हुँदा कारोबार सजिलो र पारदर्शी हुने भएकाले त्यसमा आफ्नो कम्पनी आबद्ध भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us