
नेपालगन्ज, ३० वैशाख – गृहमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीको आसन्न नवौं महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन् ।
पार्टीलाई एकताबद्ध बनाउन पनि एकपटक ओलीले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।
एमाले भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै गौतमले अध्यक्षका अर्को दावेदार वरिष्ठ नेता माधव नेपालले पनि अध्यक्षमा ओलीलाई नै समर्थन गर्ने दाबी गरे ।
‘नेताभन्दा नीति ठूलो हो, नेताहरु सबै नीतिमा एकै ठाउँ आइसकेका छन्’, गौतमले भने, ‘माधव कमरेडले अन्तिममा केपी कमरेडलाई नै समर्थन गर्नुहुन्छ ।’ उनले नेपालले अध्यक्षमा उठ्दिन भन्न एक खुट्किलो मात्र बाँकी रहेको बताए ।
पार्टीमा गरेको लगानीका आधारमा समकालीन सबैभन्दा आफू वरिष्ठ भएको जिकिर गर्दै उनले आफूले समेत ओलीलाई छाडिसकेकाले अरुले लोभ गर्न नमिल्ने तर्क गरे । ‘अहिले हामी जति नेता छौं, ती सबैमा पूरानो म हुँ’, गौतमले भने, ‘मैले नै छाडेपछि अरुले लोभ गर्न मिल्दैन ।’
कार्यक्रममा महासचिव ईश्वर पोखरलले पनि अबको अध्यक्ष ओली नै हुनुपर्ने उल्लेख गरे । पार्टी इतिहासका ४० वर्षमध्ये ३० वर्ष अध्यक्ष झलनाथ खनाल र नेता नेपालले कार्यकारी पदमा बसेर नेतृत्व गरेको भन्दै उनले अब अरुले अवसर पाउनुपर्ने बताए ।