
ललितपुर, ३० वैशाख – ललितपुरको दक्षिणी भेगका ठूलादुर्लुङ, आश्राङ, गिम्दी, प्युटार, चन्दनपुरलागयतका गाविसमा व्यावसायिक रूपमा कफीखेती फस्टाउँदै गएको पाइएको छ ।
करिब तीन दशक अघिदेखि सुरु भएको सो व्यवसाय २०६१ सालबाट व्यवसायिक रूपमा फस्टाउँदै गएको देखिन्छ । समुद्री सतहबाट एक हजार ६०० फिटको हाराहारीको उचाइमा रहेका ती गाविस ललितपुरको लगनखेलबाट ५५ किलोमिटरभन्दा बढीको दूरीमा पर्दछन् ।
यहाँ पाकामारा र टेकासी नामका अर्गानिक कफीको उत्पादन राम्रो रहेको ठूलादुर्लुङ गाविस वडा नं ४ का डोलराज अधिकारीको भनाइ छ । करिब डेढ दशक अघिदेखि कफीखेतीमा लागेका अधिकारीका अनुसार अहिले कफीको फूल फूल्ने समय भएकाले राम्रो हेरविचार गर्नु पर्दछ ।
ललितपुरमा उत्पादन भएको अर्गानिक कफी नेपालकै उत्कृष्ट रहेको प्रमाणित जापानबाट भएको नेपाल कफी सहकारी सङ्घका सहसचिव समेत रहनुभएका अधिकारीले जानकारी दिए ।
करिब ८० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको र यसबाट ललितपुरमा वार्षिक रूपमा रु एक करोड ५० लाखसम्मको आम्दानी हुने गरेको उनले बताए ।
यसैगरी डेढ दशक अघिदेखि कफी व्यवसायबाट आफ्नो परिवारको जीविकोर्पाजन गर्दै आउनुभएका ठूलादुर्लुङ– ३ का बाबुलाल श्रेष्ठले सिँचाइको सुविधा राम्रो भएमा यो व्यवसायको अझै बढ्ने ठोकुवा गरे ।
मकै, कोदो, धान, भटमास आदिको खेती गर्नुभएका श्रेष्ठले कफीखेतीको थालनीपछि परिवारको आर्थिक स्थिति बलियो हुँदै गएको बताउनुभयो ।
शिक्षण पेसामा कार्यरत ठूलादुर्लुङ– ४ का गोपाल विश्वकर्माको भनाइ पनि यस्तै छ । कफीको व्यवसायमा लागेपछि वार्षिक रूपमा रु ५० हजार बराबरको आम्दानी गर्न थालेको उहाँ बताउनुहुन्छ ।
नेपाल कफी व्यवसाय महासङ्घका कोषाध्यक्ष ओमनाथ अधिकारीका अनुसार नेपालमा उत्पादन भइरहेका कफीमध्ये ललितपुर जिल्लाको कफी उत्कृष्ट रहेको छ ।
अनुकूल हावापानी र भौगोलिक अवस्थाका कारण नै ललितपुरको ठूलादुर्लुङमा उत्पादन भइरहेको कफीको स्वाद राम्रो भएको अधिकारीको भनाइ रहेको छ । उत्पादन भएका अर्गानिक कफी अमेरिका, जापान, जर्मनी, दक्षिण कोरियालगायतका देशमा निर्यात हुँदै आएको तथ्य खुलाए ।
वार्षिक रूपमा ३०० टनको हाराहारीमा तयारी कफी विदेशमा पठाउने गरेको र यसबाट रु सात करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको उनले बताए ।
देशभरिमा करिब २७ हजार कृषकले अर्गानिक कफी व्यवसायमा रोजगारी पाइरहेका अधिकारीको भनाइ छ ।