
काठमाण्डु, ३० वैशाख – चालु आर्थिक वर्ष २०७०÷७१ को नौ महिनामा कुल वैदेशिक व्यापारमा १९.१ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ९२ अर्ब ३९ करोड पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ ।
गत आवको तुलनामा कुल निकासी १९.९ प्रतिशतले वृद्धि भई रु ६८ अर्ब २० करोड तथा कुल पैठारीमा १९ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब २४ अर्ब १९ करोड पुगेको छ ।
परम्परागत निर्यातजन्य वस्तुहरू ऊनी गलैँचा, तयारी पोसाकका साथै परम्परागत कृषिजन्य वस्तुको निर्यातमा केही सुधार देखिएको चालु आवको नौ महिनामा अघिल्लो वर्षको तुलनामा १८.८ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा रु चार खर्ब ५५ अर्ब ९९ करोड पुगेको केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिए ।
उक्त अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, हातेकागज, छाला, पश्मिना सल, जडीबुटी आदि प्रमुख रहेका छन् ।
निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बङ्गलादेश, बेलायत, अफगानिस्तान, फ्रान्स, टर्की, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया र थाइल्यान्ड प्रमुुख रूपमा रहेका छन् ।
चालु आवमा अघिल्लो आवको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १२.१ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब २५ करोड र पेट्रोलियम पदार्थमा २२ प्रतिशतले वृद्धि भई रु ९९ अर्ब ४२ करोड बराबरको पैठारी भएको छ ।
आयात हुने सामग्रीहरूमा यातायातका साधन र तिनका पार्टपुर्जामा २१.४, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा १७.४, औषधिमा ३.६, मसिनरी तथा पार्टस्मा १८.६, पोलिथिन ग्रेन्युल्समा २७.९, कच्चा पाम आयलमा २३, दूरसञ्चारका सामग्रीमा २०.९ र रसायनमा १०.७ प्रतिशतको वृद्धि भएको छ ।
यसैगरी समीक्षा अवधिमा रु १९ अर्ब ५९ करोड बराबरको सुन, रु १३ अर्ब १२ करोड बराबरको रासायनिक मल तथा रु एक अर्ब ६८ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्टस् पैठारी भएका छन् ।
सो अवधिमा सिमेन्ट क्लिङ्कर रु चार अर्ब छ करोड, भटमासको कच्चातेल रु १२ अर्ब एक करोड, तयारी पोसाक रु ८ अर्ब ५५ करोड, अन्न रु १८ अर्ब ७४ करोड र ऊन दुई अर्ब ४९ करोड बराबरको पैठारी भएको छ ।
नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, अर्जेन्टिना जर्मनी, मलेसिया, संयुक्त राज्य अमेरिका, साउदी अरेबिया, जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य आदि प्रमुुख मुलुकका रूपमा रहेका छन् ।