
काठमाण्डु, २९ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार गरेको नेता बाबुरा भट्टराई पक्षसँगको वार्ता र छलफललाई तीव्रता दिएका छन् ।
उनले सोमबार सो पक्षका नेता टोपबहादुर रायमाझीसँग विवाद समाधान गर्ने विषयमा छलफल गरे । आफ्नै निवास लाम्पिाटमा भएको छलफलमा उनले केन्द्रीय समितिमा फर्कन रायमाझीलाई आग्रह गरेका छन् ।
सम्मानजनक नभएको भन्दै भट्टराईसहित सो पक्षका १५ जनाले गत साता विराटनगर राष्ट्रिय सम्मेलनबाट चुनिएको केन्द्रीय समितिमा बस्न इन्कार गरेका थिए । रायमाझीले छलफल सकारात्मक भएको बताए ।
‘अध्यक्षले केन्द्रीय समितिमा बस्न आग्रह गर्नुभयो’, रायमाझीले काडमाण्डु टुडेसँग भने, ‘सम्मानजनक हैसियतसहित केन्द्रीय समितिमा बस्न तयार छौं ।’ उनले भेटमा पार्टीको विचार, विधि र संगठनमा सन्तुलन र तालमेल मिलाउन अध्यक्षलाई आग्रह गरेको बताए ।
जवाफमा प्रचण्डले ९९ जनाबाहेक केन्द्रीय समितिमा थप्नबाहेक ५२ जनामा छुटेकाहरुलाई समेट्ने आश्वासन दिएका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनले नेता भट्टराई चीनबाट फर्किएलगत्तै छलफल गर्नेछन् ।
भट्टराई साता व्यापी पारिवारिक भ्रमण सकेर मंगलबार स्वदेश फर्कंदै छन् । भट्टराईले दुई दिनअघि समस्या समाधानका लागि भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलसँग पनि छलफल गरेका थिए ।