दुलाहाकाे घरमा भाेज खाएर दुलहीकाे घर नपुग्दै झाडापखाला

काठमाण्डु टुडे २०७१ वैशाख २९ गते १३:१२ मा प्रकाशित

प्यूठान, २९ वैशाख– प्यूठानको फोप्लीमा विवाह भोजको भतेर खाँदा स्थानीयवासीलाई झाडापखाला लागेको छ ।

फोप्ली–८ का भिउसन रानाको घरमा बिहे भोज खाएकाहरुलाई झाडापखाला लागेको हो । स्थानीय परम्पराअनुसार दुलाहाले भागी विवाह गरी माइती मान्न दुलहीको माइती घर जाँदा उनीहरुलाई पखाला लागेको थियो ।

दुलाहाका घरमा भोज खाई दुलहीको माइती नजिकै पुग्दा बाटोमा एकैपटकमा २२ जना एक्कासि बिरामी भएका थिए । आइतबार बिहानदेखि सुरु भएको यो बिमारले अहिलेसम्म ३५ जना स्थानीय बासिन्दा थलापरेको स्थानीय पुष्प खड्काले बताए ।

बिरामीहरुमा झाडापखाला, वाक्वाकी आउने, रिङ्गटा लाग्ने, बान्ता आउनेजस्ता लक्षण देखिएको छ । सिकिस्त बिरामी मनि घर्ती र अर्का एकजनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
जिल्ला अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गइसकेको र उनीहरुले  फर्किएपछि मात्रै के कारणले सो घटना भएको हो भन्ने थाहा हुने निमित्त प्रमुख जिल्ला अधिकारी छविलाल नेपालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us