
काठमाण्डु, २९ वैशाख – दहचोक गाविस वडा नं १, २ र ३ मा पर्ने केउरानी सामुदायिक उपभोक्ता समूहको जङ्गलमा तीन दिनयता लागेको डढेलोका कारण लगभग ४२ हेक्टर वनक्षेत्र नष्ट भएको छ ।
डढेलो नियन्त्रणका लागि स्थानीयवासीका साथै सुरक्षाकर्मी परिचालन हुँदासमेत अझै डढेलो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको समूहका अध्यक्ष दयाराम गिरीले जानकारी गराए । उनका अनुसार डढेलो नियन्त्रणका लागि सक्रिय प्रयास भए पनि वनमा रहेका पुराना काठका कारण समस्या भइरहेको छ । समूहको ५१.९ हेक्टर क्षेत्रफल जङ्गलमध्ये अधिकांश डढेलोका कारण नष्ट भएको छ ।
दहचोकका स्थानीयवासीका लागि घाँस दाउराका लागि निकै उपयोगी बनेको सो जङ्गलमा अघिल्लो वर्ष पहिलो पटक मङ्सिरमा र दोस्रो पटक माघमा डढेलो लागेकामा स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।
तेस्रो पटक भएको आगलागीसँगै डढेलो नियन्त्रणका लागि स्थानीयवासी तथा सुरक्षाकर्मीसमेतको व्यापक परिचालन भए पनि बढ्दो खडेरीका कारण डढेलो नियन्त्रणमा आउन नसकेको स्थानियबासीले बताए ।