एक बर्षमा विदेशिए तीन लाख ५० हजार नेपाली

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख– गत चैतमा ४५ हजार नेपालीले वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ४५ हजार आठ सय ५४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। एक लाख १३ हजार पाँच सय ४७ नेपाली युवा युवतीले विदेश काम गर्न जान पूर्व श्रम स्विकृती लिएका थिए। अन्तिम स्वीकृति लिएपछि अधिकांस कामदार विदेशिने गरेका छन्।

Nepal, kathmandu, Plane taking off with Himalayas behindयो तथ्यांक अनुसार औसतमा प्रतिदिन एक हजार पाँच सय नेपाली विदेशिएका छन्। साउन देखि चैतसम्मको नौं महिनाको अवधिमा कुल तीन लाख ५२ हजार चार सय ८६ जना नेपाली विदेशिएका छन्। यसले पनि मासिक औसतमा पनि ४० हजार कामदार विदेशिएको देखिन्छ।

गत वर्षको साउन देखि चैतसम्मको अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४० हजार थपिएको हो। गत वर्ष सबैभन्दा बढी कामदार कतार पुगेका थिए भने यस वर्षको नौ महिनासम्म मलेशिया प्रमुख गन्तव्य बनेको छ।

विभागको तथ्यांक अनुसार नौ महिना मलेशिया जानेको संख्या एक लाख ३६ हजार एक सय ३७ पुगेको छ। दोस्रो गन्तव्यमा कतार छ। यो मुलुकमा ८९ हजार पाँच सय नेपाली गएका छन्। साउदी अरव ५८ हजार दुई सय १७, युनाइटेड अरव इमिरेट्स ३९ हजार तीन सय ६०, कुबेत १७ हजार ६० र ओमान दुई हजार चार सय ७७ नेपाली गएका छन्। समग्रमा खाडी मुलुकहरु नेपालीको ठूलो गन्तव्य हो।

नौ महिनामा तीन लाख ३४ हजार पुरुष र २२ हजार सात सय महिला बैदेशिक रोजगारीमा गएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us