बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १२:११ मा प्रकाशित

पर्वत, २५ वैशाख – शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् ।

pig

पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन् । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी संस्था लिमिटेड गठन गरी सरौखोलामा नै व्यावसायिक बङ्गुरपालन सुरु गरिएको छ ।

तिवारीको अगुवाइमा गाउँमा बङ्गुरपालनदेखि माछापालन र तरकारीखेती पनि सुरु गरिएको छ । “राजनीतिले सबै आवश्यकता पूरा गर्दैन, अब कृषि र आर्थिक क्रान्तिबाट सबैलाई सक्षम बनाउने अभियान हामीबाट सुरु गर्नुपर्छ”, उनले भने ।
सहकारीले बङ्गुरपालनबाट राम्रो आम्दानी गर्ने उद्देश्य लिएको तिवारी बताउछन् । सहकारीले अहिलेसम्म बङ्गुरपालनका लागि भवन तयार गरी पानीको व्यवस्था गरेको छ भने बङ्गुरका बच्चा ल्याउने तयारी भइरहेको छ ।

सुरुमा २५ वटा बङ्गुर पालेर व्यवसाय सुरु गर्न लागेको तिवारीको भनाइ छ । पैयँुखोला सहकारीमा २५ जना सदस्य छन् । सदस्यमध्ये चार जनाले व्यावसायिक रूपमा नै बङ्गुरपालनमा काम गरिरहेका छन् ।

जिल्ला पशुसेवा कार्यालय पर्वतले बङ्गुरपालनका लागि दुई वटा सहकारी छनोट गरी आर्थिक अनुदान र प्राविधिक सहयोग दिँदै आएको छ । पाठापाठी खरिद, विद्युत्, खानेपानी, दाना खरिद ढुवानीलगायतका काममा अनुदान दिइने वरिष्ठ पशुविकास अधिकृत अमृत मास्केले बताए । “सहकारीमार्फत व्यवसाय गरी जीविकोपार्जनमा सुधार र आम्दानी बढाउन यस्ता कार्यक्रम प्रभावकारी देखिएका छन्”, उनले भने । कार्यालयले अघिल्ला वर्षहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us