चिठ्ठामा परेको डेढ सयको क्यामराले बनायो करोडको मालिक

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते १२:१५ मा प्रकाशित

गुल्मी, २४ वैशाख – भारतमा मजदुरी गर्दा चिट्ठामा परेको क्यामरा लिएर फोटो खिच्ने व्यवसाय सुरु गरेका गुल्मीका एक व्यक्ति सोही व्यवसायबाटै करोडपति बनेका छन् ।

विसं २०३४ मा भारतमा एक–डेढ सय रूपैयाँ पर्ने रिलवाला क्यामरा हात परेपछि फोटोग्राफर बन्ने सपना बोकेका नन्दराम पाण्डे अहिले गुल्मीको सदरमुकाम तम्घासमा त्यही व्यवसायबाटै करोडौँको मालिक भएका छन् ।

अर्घाखाँचीको भगवती–९ मा जन्मनुभएका ६१ वर्षीय पाण्डेले गुल्मीको सदरमुकाम तम्घासमा उतिबेलैदेखि पाण्डे फोटो स्टुडियो खोलेर व्यवसाय सुरु गरेका थिए ।

करिब ३५ वर्ष पहिले सानो तम्घास बजारमा व्यावयाय चल्ने नचल्ने आशङ्काकैबीचमा फोटो स्टुडियो सञ्चालन गरेका नन्दराम अहिले सफल र उदाहरणीय बनेका छन् ।

गरे के हुन्न भनेर प्रवासबाट स्वदेश फर्किएका पाण्डेले अहिले तम्घासको व्यस्त बसपार्कमा आफ्नै तीन तले घर र नजिकै घडेरी जोडेका छन् ।

घरको न्यूनतम मूल्य डेढ करोड पर्ने र घडेरी पनि रु ५० लाखभन्दा बढीको मूल्याङ्कन गर्न सकिने उनका छिमेकी गोपाल भुसाल बताउछन् । उनले घरको एक सटर र कोठमा फोटो स्टुडियो सञ्चालन गरेका छन् ।

त्यसमा उहाँले आफूले फोटो स्टुडियो सुरु गर्दादेखि राजा वीरेन्द्र, बिपी कोइराला र त्यसपछिका राजा, प्रधानमन्त्री तथा विशिष्ट व्यक्तिहरू गुल्मी आउँदा खिचेको फोटो सजाएर राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us